बुटवल,असोज २० ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पार्टीभित्र लामो समयदेखि वैचारिक, संगठनात्मक तथा नीतिगत बहसमा सक्रिय रहँदै आएका डा. भण्डारीले कांग्रेसलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिने बताएका हुन् । उनले पार्टीको नेतृत्वमा नयाँ सोच, स्पष्ट दृष्टिकोण र कार्यकर्तामैत्री व्यवहार आवश्यक रहेको भन्दै त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
डा. भण्डारी कांग्रेसभित्र स्पष्ट विचार राख्ने र समसामयिक राजनीतिक विषयमा निरन्तर आवाज उठाउँदै आएका नेताका रूपमा परिचित छन् । उनी पार्टी संगठनलाई बलियो बनाउने, युवालाई नेतृत्वमा अवसर दिने तथा कांग्रेसलाई जनतासँग थप जोड्ने विषयमा सक्रिय रहँदै आएका छन् ।
उनले कांग्रेसको वर्तमान अवस्था, पार्टी संगठनको चुनौती र बदलिँदो राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा समीक्षा गर्दै आगामी दिनमा पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । उनका अनुसार कांग्रेसलाई केवल निर्वाचनका समयमा सक्रिय हुने संगठनका रूपमा नभई निरन्तर जनताको बीचमा रहने राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्छ ।
उपसभापति पदमा उम्मेदवारी दिने तयारीसँगै डा. भण्डारीले पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिसँग छलफल र भेटघाटलाई समेत तीव्रता दिने भएका छन् । उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि नभई पार्टीको नीति, संगठन र नेतृत्व शैलीमा सुधार ल्याउने उद्देश्यका साथ अघि बढाएको बताउँदै आएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा आकांक्षीहरूको संख्या बढ्दै जाँदा उपसभापति पदमा पनि नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । यसैक्रममा डा. भण्डारीको उम्मेदवारीले कांग्रेसको आन्तरिक राजनीतिमा थप चर्चा र प्रतिस्पर्धा बढाउने देखिएको छ ।
डा. भण्डारीले पार्टीभित्रको गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर विचार, नीति र संगठन निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आएका छन् । उनले कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् ।
उनको उम्मेदवारीसँगै लुम्बिनी प्रदेशसहित देशभरका कांग्रेस कार्यकर्तामाझ समेत चासो बढेको छ । डा. भण्डारीको राजनीतिक पृष्ठभूमि, पार्टीभित्रको प्रभाव र उनले उठाउँदै आएका मुद्दाका कारण उपसभापतिको प्रतिस्पर्धामा उनको उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)