बुटवल,असोज १४ ।
जी ट्वान्टी फाइभ क्लब बुटवल–११, देवीनगरको आयोजनामा ‘दोस्रो जी–२५ बुटवल उपमहानगरपालिका वडा स्तरीय सेभेन ए साइड भेट्रान्स फुटबल कप–२०८३’ आयोजना हुने भएको छ।
हिन्दुहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
प्रतियोगिता २०८३ असोज २६ गतेदेखि ३० गतेसम्म बुटवल–११ देवीनगरस्थित एकता एकेडेमीको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाबाट भेट्रान्स टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले रु. १ लाख ५ हजार ५ सय ५५ तथा उपविजेताले रु. ५५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट खेलाडीलाई रु. ७ हजार ५ सय ५५, सर्वाधिक गोलकर्तालाई रु. ६ हजार ५ सय ५५ र उत्कृष्ट गोलरक्षकलाई रु. ६ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कारको समेत व्यवस्था गरिएको खेल संयोजक रमेश कुमार जोशीले नागरिक अनलाइनलाई बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुन सम्बन्धित वडाको टिमले दर्ता गर्नुपर्नेछ। टिम दर्ताका लागि रु. २ हजार शुल्क तोकिएको छ। दर्ताको अन्तिम मिति २०८३ असोज २० गते मंगलबार साँझ ४ बजेसम्म रहेको छ।
आयोजकका अनुसार खेलाडीको उमेर ४० वर्ष पूरा भएको हुनुपर्नेछ भने टिममा ४० वर्षभन्दा माथिका खेलाडीलाई प्राथमिकता दिइनेछ। खेलाडी परिचयका लागि ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये आवश्यक कागजात पेश गर्नुपर्नेछ।
प्रतियोगिता सेभेन ए साइड नियमअनुसार सञ्चालन हुनेछ। खेलको अवधि ४० मिनेट रहनेछ। खेलाडी संख्या १२ जना रहने र टिममा टिम कप्तान तथा म्यानेजरसहित १२ खेलाडी सहभागी हुने व्यवस्था गरिएको छ।
क्लबले इच्छुक सम्बन्धित वडाका टिमलाई समयमै दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)