बुटवल, असोज १३ ।
रुपन्देहीका तरुण नेता तथा युवा व्यवसायी प्रशन कोइरालाले नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक अध्यक्षसमेत रहेका कोइरालाले पार्टी संगठनलाई समयअनुकूल बनाउँदै युवाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्न आफूले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएको बताउनुभएको छ।
लामो समयदेखि सामाजिक, व्यावसायिक तथा राजनीतिक क्षेत्रमा सक्रिय कोइराला युवामाझ परिचित हुनुहुन्छ। नेपाल तरुण दल रुपन्देहीको नेतृत्वमा रहेर उहाँले युवालाई संगठनसँग जोड्ने, सामाजिक गतिविधिमा सक्रियता बढाउने तथा विभिन्न सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।
‘पार्टीको सुदृढीकरण र युवाको सशक्तीकरण हाम्रो साझा संकल्प’ भन्ने अवधारणासहित चुनावी मैदानमा उत्रिनुभएका कोइरालाले कांग्रेसको स्थानीय संगठनलाई थप बलियो, सक्रिय, अनुशासित र जनमुखी बनाउने आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।
“कांग्रेसलाई बलियो बनाउन पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा दुवै आवश्यक छ। हामीले अग्रजको अनुभवलाई सम्मान गर्दै जेन–जी पुस्ताको नयाँ सोच, प्रविधिमैत्री क्षमता र सिर्जनशीलतालाई संगठनसँग जोड्न सक्यौँ भने पार्टीलाई अझ बलियो र समयअनुकूल बनाउन सकिन्छ,” कोइरालाले भन्नुभयो।
उहाँले पछिल्लो पुस्तामा राजनीतिप्रति देखिएको चासो र अपेक्षालाई पार्टीले सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने बताउनुभयो। युवालाई केवल सभा, जुलुस र निर्वाचनमा परिचालन गर्नेभन्दा पनि नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व तहमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ।
“आजको युवा पुस्ता प्रश्न गर्छ, नयाँ विकल्प खोज्छ र परिणाम चाहन्छ। त्यसैले कांग्रेसले पनि युवाको आवाज सुन्ने, उनीहरूसँग संवाद गर्ने र निर्णय प्रक्रियामा सहभागी गराउने संस्कार विकास गर्नुपर्छ। जेन–जीलाई पार्टीमा ल्याउनु भनेको संख्या थप्नु मात्र होइन, उनीहरूको सोच र क्षमतालाई पार्टी निर्माणमा प्रयोग गर्नु हो,” उहाँले भन्नुभयो।
कोइरालाले युवाको मुख्य सरोकारका रूपमा रोजगारी, उद्यमशीलता, सीप विकास, शिक्षा, प्रविधि, खेलकुद तथा सामाजिक सुरक्षाका विषयलाई पार्टीको एजेण्डासँग जोड्नुपर्ने बताउनुभएको छ। स्वदेशमै अवसर सिर्जना गर्न राज्यलाई दबाब दिनेदेखि स्थानीयस्तरमा युवालाई उद्यम र स्वरोजगारसँग जोड्ने अभियान सञ्चालन गर्नुपर्ने उहाँको धारणा छ।
“हाम्रा युवाहरू अवसरको खोजीमा विदेशिनुपर्ने बाध्यता छ। राजनीति केवल पद र निर्वाचनको विषय होइन, युवाको भविष्यसँग जोडिएको विषय पनि हो। त्यसैले स्थानीय तहदेखि नै सीप, रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने विषयमा कांग्रेसले स्पष्ट कार्यक्रम बनाउनुपर्छ,” कोइरालाले भन्नुभयो।
उहाँले रुपन्देही क्षेत्र नं. २ लाई कांग्रेसको बलियो संगठनका रूपमा स्थापित गर्न वडा तहदेखि नै संगठनलाई चलायमान बनाउने, कार्यकर्तासँग नियमित संवाद गर्ने र जनताका समस्या प्रत्यक्ष रूपमा सुन्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कोइरालाका अनुसार पार्टी संगठनलाई केही व्यक्तिको गतिविधिमा सीमित नभई सबै कार्यकर्ता र शुभेच्छुकको साझा थलोका रूपमा विकास गर्न आवश्यक छ।
“क्षेत्रीय सभापति मेरो व्यक्तिगत राजनीतिक गन्तव्य मात्र होइन, संगठनलाई नयाँ ढंगले अघि बढाउने जिम्मेवारी हो। म सबै पुस्ता, सबै समुदाय र सबै तहका कार्यकर्तालाई समेटेर अघि बढ्न चाहन्छु। अग्रजको मार्गदर्शन, युवाको सक्रियता र नयाँ पुस्ताको सिर्जनशीलतालाई एक ठाउँमा जोडेर संगठन निर्माण गर्ने मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो।
पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र कार्यकर्तासँगको नियमित संवादलाई समेत प्राथमिकतामा राख्ने कोइरालाले बताउनुभएको छ। उहाँले संगठनमा योगदानका आधारमा जिम्मेवारी र अवसरको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ।
“कांग्रेसमा योगदान गर्ने प्रत्येक कार्यकर्ताले आफू पार्टीको महत्वपूर्ण हिस्सा हुँ भन्ने अनुभूति गर्नुपर्छ। संगठन बलियो हुने भनेको नेतृत्व बलियो भएर मात्र होइन, कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो भएर हो,” कोइरालाले भन्नुभयो।
युवाको नेतृत्व विकासलाई प्राथमिकता दिँदै प्रशिक्षण, क्षमता अभिवृद्धि तथा सामाजिक अभियानमार्फत नयाँ पुस्तालाई राजनीतिमा सक्रिय बनाउने योजना समेत उहाँले अघि सार्नुभएको छ।
रुपन्देही क्षेत्र नं. २ मा क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै कोइरालाले आफूलाई कुनै समूह वा पुस्ताको मात्र उम्मेदवार नभई अनुभव र ऊर्जालाई जोड्ने साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले पार्टी सभापति गगन थापाका याेजना र भिजनलाई अघि बढाउन आफूले काम गर्ने समेत बताउनुभयो।
“हामीले पुस्ताबीच दूरी होइन, सहकार्य खोज्नुपर्छ। अग्रजलाई सम्मान र युवालाई अवसर दिएर मात्र कांग्रेसको संगठनलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ। पुरानो पुस्ताको अनुभव र जेन–जीको ऊर्जा जोड्ने कांग्रेस आजको आवश्यकता हो,”। कोइरालाले भन्नुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)