बुटवल,असोज १३ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका नेता खेलराज पाण्डेयले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। बुटवलको स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय पाण्डेयले नगरप्रमुखको जिम्मेवारी सम्हालिरहेका बेला पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा समेत आफूलाई अघि सारेका हुन्।
पाण्डेयको उम्मेदवारीसँगै रुपन्देही कांग्रेसको महाधिवेशन प्रक्रिया थप चासोको विषय बनेको छ। उनी १४औँ महाधिवेशनका क्रममा नेपाली कांग्रेस बुटवल उपमहानगर कार्यसमितिको सभापतिमा निर्वाचित भएका थिए।
२०७८ मा सम्पन्न नगर अधिवेशनमा पाण्डेयले ४१२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका थिए। पाण्डेय त्यसअघि पनि बुटवल कांग्रेसको नगर नेतृत्वमा सक्रिय थिए। पार्टी संगठनमा लामो समय काम गरेका उनी २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए। निर्वाचनबाट उनी बुटवलको नगरप्रमुख निर्वाचित भए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ। अब क्षेत्रीय तथा अन्य अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। कांग्रेसको घोषित कार्यतालिकाअनुसार असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १८ देखि २० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ। कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय नेतृत्व र कार्यसमिति चयन हुँदैछ। संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने र १७१ सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)