बुटवल,असाेज १३ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं.२ बाट तरुण नेता सुजन पुनले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
कांग्रेसको संगठनलाई थप गतिशील, समावेशी र युवामैत्री बनाउने उद्देश्यसहित आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको पुनले बताउनुभएको छ। उहाँले पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता, पुस्तान्तरण र नयाँ पुस्ताका सवाललाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पुनका अनुसार पछिल्लो समय ठूलो संख्यामा नेपाली युवा रोजगारी, शिक्षा तथा अवसरको खोजीमा विदेशिनुपर्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरूले युवाका वास्तविक समस्यालाई नीति निर्माणको केन्द्रमा राख्नुपर्ने आवश्यकता छ।
“युवा केवल चुनावका बेला परिचालन गर्ने शक्ति होइनन्, नीति निर्माण र नेतृत्वमा निर्णायक भूमिका पाउनुपर्ने पुस्ता हुन्। कांग्रेसभित्र युवाको सहभागिता संख्या र उपस्थितिमा मात्र सीमित नभई निर्णय प्रक्रियामै प्रभावकारी हुनुपर्छ भन्ने मेरो धारणा हो,” पुनले भन्नुभयो।
उहाँले युवालाई स्वदेशमै रोजगारी र उद्यमको अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। कृषि, पर्यटन, सूचना प्रविधि, स्वरोजगार तथा साना–मझौला उद्यममार्फत युवालाई आर्थिक रूपमा जोड्न सकिने उहाँको भनाइ छ।
“आजको पुस्ताले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य चाहेको छ। त्यसका लागि राज्यले युवामैत्री नीति बनाउने र राजनीतिक नेतृत्वले त्यसको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्नुपर्छ,” पुनले नागरिक अनलाइनसंग भन्नुभयो।
युवाको शिक्षा र सीप विकासलाई पनि उहाँले महत्वपूर्ण एजेण्डाका रूपमा अघि सार्नुभएको छ। बदलिँदो प्रविधि र श्रम बजारअनुसार शिक्षा तथा सीपलाई जोड्न सके स्वदेशमै युवाका लागि नयाँ अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ छ।
पुनले पार्टी संगठनमा नयाँ पुस्तालाई आकर्षित गर्न कांग्रेसले आफ्नो कार्यशैली र राजनीतिक संस्कारमा समेत परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ। उहाँका अनुसार युवालाई नेतृत्वमा ल्याउने विषय नारामा मात्र सीमित नभई व्यवहारमै कार्यान्वयन हुन आवश्यक छ।
रुपन्देही–२ को स्थानीय आवश्यकता र सम्भावनालाई समेत कांग्रेसको राजनीतिक एजेण्डासँग जोडेर अघि बढाउनुपर्ने पुनको धारणा छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न तहमा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)