बुटवल,असार २९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारका लागि ६ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।
आज रुपन्देहीमा बसेको जिल्ला कार्यसम्पादन समिति बैठकले पार्टी केन्द्रीय सदस्यद्वय बसन्तविक्रम शाही, स्वाती थापा, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्व. दीपक बोहोराका छोराहरु गौरव बोहोरा, प्रज्ज्वल बोहोरा र जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको हो ।
यो क्षेत्रबाट ०७९ सालको निर्वाचनमा निर्वाचित भएका राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएपछि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको छ ।
राप्रपाले आफ्नो तर्फबाट यसअघि जितेको क्षेत्र सुरक्षित राख्ने योजनाका साथ चुनावी तयारी गरेको जनाएको छ । अहिले सिफारिस भएका गौरव बोहोरा, प्रज्ववल बोहोरा उनका दुई छोरा र स्वाती थापा नातिनी हुन् । ०७९को निर्वाचनमा थापा चुनावी कमाण्डर रहेकी थिइन् । गौैरव बुद्ध एयरको सिनियर पाइलट हुन् भने प्रज्ववल इन्जिनियर हुन् । निर्वाचनका दुवै छोराहरुले दीपकलाई साथ दिएका थिए ।
राप्रपा केन्द्रीय कमिटीले असार १९ गते नै यसको तयारीका लागि काम थालेको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आवश्यक प्रक्रिया र तयारी गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । उक्त क्षेत्रमा उठ्नका लागि सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशनसँगै वरिष्ठ नेता रहेका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ ।
समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् । यहाँकात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)