काठमाडौं,फागुन १४ ।
नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टी अत्यन्त संवेदनशील र चलायमान पार्टी भएको दाबी गरेका छन् ।
स्व. नेता महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित समारोहमा बोल्दै नेता कोइरालाले देशमा विगत ३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको दाबी गरेका छन् ।
देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाइल फोन सबै कांग्रेसको देन रहेको नेता कोइरालाले बताए । यी सबै उपलब्धि कांग्रेसकै कारणले आएको भए पनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरूलाई सुझाव दिए ।
नेता कोइरालाले केन्द्रीय कार्यसमितिमा ४० वर्ष भन्दा मुनिका कोही पनि नरहेका गुनासो गरे । उनले युवाहरूलाई स्वदेशमै बसेर रोजगार सृजना गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको औँल्याए ।
उनले १७ लाख हेक्टर कृषि योग्य भूमि रहेको यस भूमिको सही सदुपयोग गर्न सकेमा ४० करोड जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्न सकिने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)