बुटवल,पुस २४-
मजदुरी गरेरै जीवन धानीरहेकी रुपन्देही तिलोत्तमा ६ की मीना बिकलाई यसपटक जीवनकै ‘कठिन’ समय भोग्नु पर्यो । परिवारका सबै सदस्यको हातमुख जोड्न उनी र उनका श्रीमान दिनरात काममा खटिनुपर्छ ।
यसपटक झण्डै ९ महिनासम्म कोरोना महामारी कोभिड–१९ का कारण उनको र परिवारको जीवन चलाउन निकै सकस प¥यो । उनी भन्छिन्—‘यस्तो असहज समय जीवनमा कहिलै आएन, केही न केही काम त भैराख्थ्यो, बिहान, दिउँसो, साँझ काम गरेपछि खान मजाले पुग्थ्यो, यसपाली चौपट भयोे ।’
२८ वर्षीया मीना र ३० वर्षीय उनका श्रीमान श्याम सुनारले यसै गरेर दुई सन्तानसहित चार जनाको जीविका चलाउनुपरेको छ । यही समस्यामा परेको थाहा पाएपछि युएन वुमन नामक संस्थाले उनी लगायतलाई खाद्यान्न, स्वास्थ्य सामग्री, कपडा, आर्थिक रकम समेत सहयोग गरको थियो ।
राहत सामग्री पाएपछि उनको मुहारमा खुसी थपिएको छ । ‘हातमुख जोड्नमै समस्या भएको थियो, राहत स्वरुप चामल, दाल, नुन, कपडा र आर्थिक रकम पैसा पाएँ खुसी छु, सरकारले हेरेन हामी दुःखी गरिबलाई यस्तै संस्थाले हेर्छन् ।’–बिकले भनिन् ।
बिकले यस्ता अवसरहरु हुनेखाने वर्गले नै छोेप्दा आफूहरु जस्ता समस्यामा परेकालाइ झन् दुःख हुनेगरेको समेत गुनासो सुनाइन् । रुपन्देही तिलोत्तमा मंगलापुरकी पुरानो सडककी ४८ वर्षीया माया आलेको समस्या पनि उस्तै थियो । कोरोना भाइरस र लकडाउनले कमाइ खाने बाटो नै बन्द भएपछि मायाको अवस्था पनि झन् उस्तै बन्यो ।
घरमा श्रीमान अपाङ्ग, प्यारालाइसिस घरमा खाने अन्नको जोहो गर्न पनि सकस परेको थियो, जसोतसो अलिअलि गरेर चलेका छौं, राहत पाए,अहिले खुसी छु । उनले राहत स्वरुप चामल, दाल, तेल, पैसा समेत पाएको बताइन् ।
मीना र माया प्रतिनिधिमुलक पात्र हुन्, यस्तो समस्या हुँदाखानेका घरमा सधै दोहोरिइरहने समस्या हो । यो महामारीका बेला यस्ता समस्या अहिलेपनि विद्यमान होलान् तर यतिबेला दैनिक कामधन्दा चलेकाले केही हदसम्म भने पक्कै भएका छन् ।
राहत पाएका अर्का मनबहादुर थापा घर बनाउने काम गर्छन्, तर उनको रोजगारी पनि अन्यौंल बनेका बेला राहत पाएपछि उनले आफ्नो कोही रहेछ भन्ने लागेको बताउँछन् । त्यस्तै एकछाक खाएर पनि बस्नुपरेको धेरैको गुनासो छ ।
उनीहरुले पटक÷पटक यस्तै राहतका सामान पाए आर्शिवाद दिने समेत बताउँछन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई लक्षित गरी रुपन्देहीको तिलोत्तमामा राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको थियो । दैनिक मजदुरी गर्नेहरुका लागि यो ठूलो राहत प्याकेज भएको स्थानीय अम्बिका कण्डेलले बताइन् । 
‘हामीले त खाना पकाउने ग्यास सिलिण्डर पनि पायौं, दिइएको पैसाले औषधि किनेर दुई बालबच्चाको उपचार समेत गरें, एकदम खुसी छु ।’–उनले सुनाइन् ।
कोरोना भाइरस कोभिड–१९ को कहरका कारण जीवनयापनमा असहज भएका महिलाहरुलाई लक्षित गरी युएन वुमनको आयोजनामा नगरका १७ वटै वडाका महिलाका लागि गत कार्तिक महिनामा राहत बाँडिएको थियो ।
ब्लु डायमण्ड सोसाइटी, वुमन एक्ट, र सीडीडब्लुएनलगायतका सहयोगी संस्थाहरुको आबद्धतामा युएन वुमनले राहत वितरण गरिएको ब्लु डायमण्ड सोसाइटी, तेस्रो लिंगी अधिकारकर्मी आनिक राना मगरले बताइन ।
सो कार्यक्रमबाट यौनिक तथा लंैगिक अल्पसंख्यकसमुदाय, अपागंता, दलित समुदायका २ सय ५० जना प्रत्यक्ष रुपमा लाभान्वित भएको उनको भनाइ छ ।
रानाले प्रत्येक व्यक्तिलाई चामल, दाल, नुन, तेल, साबुन, टुथपेष्ट, स्वास्थ्य सामग्री, र नगद १३-१३ हजार वितरण गरिएको जानकारी दिइन् ।
निल हिरा समाज केन्द्रकी प्रेसिडेन्ट पिङ्की गुरुङ, अधिकारकर्मी आनिक रानालगायतले राहत वितरण गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)