Logo शनिवार, श्रावण १६ गते २०८३
images

आन्दोलन गर्न बस रिजर्भ गरेर बुटवलबाट दाङ पुगे सुप्रिम सहकारी पीडित बचतकर्ता

आन्दोलन गर्न बस रिजर्भ गरेर बुटवलबाट दाङ पुगे सुप्रिम सहकारी पीडित बचतकर्ता

  • 1.4K
    SHARES

  • आन्दोलन गर्न बस रिजर्भ गरेर बुटवलबाट दाङ पुगे सुप्रिम सहकारी पीडित बचतकर्ता

    बुटवल,साउन २९ ।

    बचत फिर्ताका लागि सरकारी निकायबाट प्रभावकारी पहल नभएको भन्दै बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता फेरि आन्दोलित भएका छन् । सुप्रिम सहकारीबाट बचतकर्ताको १ अर्ब ७ करोड रकम मध्ये झण्डै ९० करोड अपचलन भएको थियो ।

    १० हजार ३ सय ९१ बचतकर्ता रहेको सुप्रिम सहकारीका झण्डै ५ सय बचतकर्ताले आइतबार लुम्बिनी प्रदेश राजधानी दाङको देउखुरी पुगेर दोषीमाथि कारवाही र बचत फिर्ताको माग गर्दै आन्दोलन गरेका छन् । उनीहरुले राज्यले अहिलेसम्म प्रभावकारी सुनुवाई नगरेको भन्दै आइतबार ब्यानरसहित प्रदर्शन गरेका थिए ।

    बस रिजर्भ गरेर बुटवलबाट प्रदेश राजधानी दाङ पुगेका पीडित बचतकर्ताले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै ती मन्त्रालय र कार्यालय अगाडी घेराउ तथा नाराबाजी गरेका हुन् ।

    यसअघिका आन्दोलन बुटवलमै गरे पनि सरकारबाट सुनुवाई नभएपछि अहिले प्रदेशको राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको सुप्रिम बचत पीडित संघर्ष समितिका संयोजक बिजयकुमार नेपालले बताए । ‘हामीले बैशाखदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छौं, आजको आन्दोलन पनि त्यसकै निरन्तरता हो,’ उनले भने, ‘वचत फिर्ताका लागि राजनीतिक दल, सांसद र मन्त्रीहरुलाई पनि जानकारी गरायौं, तर सुनुवाइ नभएपछि फेरि आन्दोलनमा उत्रिन बाध्य भयौं ।’ बचत फिर्ताको सुनिश्चित नभएसम्म चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने उनले बताए । आन्दोलनका लागि दुई वटा बस रिजर्भ गरेर बुटवलबाट भालुबाङ पुगेको उनले बताए ।

    सुप्रिम सहकारीमा एकै व्यक्तिको तीन करोड रुपैयाँसम्म बचत फसेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १ हजार ८ सय ३१ जनाले आफूहरुको ८६ करोड १८ लाख २३ हजार अपचलन गरेको भन्दै जाहेरी दिएका छन् । सुप्रिम सहकारीमा बचत भएको १ अर्ब २ करोड १४ लाख २ सय ५३ रुपैयाँ मध्ये झण्डै ९० करोड अपचलन भएको देखिएको जिल्ला प्रहरी रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले बताए ।

    सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसीसहित ९ जना फरार छन् । राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

    भूपेन्द्रबाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख रुपैयाँ गोर्खा मिडियाको नामको पेश्की फर्छ्यौट गरेको अनुसन्धानले देखाएको छ । त्यस्तै भूपेन्द्रबाहेक थप १० लाख ९९ लाख ३६ हजारसहित कुल १४ करोड २९ लाख रकम गोर्खा मिडियामा लगानी गरेको देखिएको जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सहकारीको रकम ऋणका रुपमा लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पूर्वगृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता देखिएको छ ।

    लामिछाने गोर्खा मिडियाका पूर्व कार्यकारी निर्देशक हुन् । प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा पनि ऋण लगानी भएको उल्लेख छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको मुद्दामा सहकारीका अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ पुर्पक्षका लागि कारागारमा छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित अन्य ६ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।

    पुन ४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । अर्का प्रतिवादी नवीन अछामी १० लाख, भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डे १८ लाख, निता थापा मगर २ लाख, दीपक न्यौपाने ४ लाख ४५ हजार र रोशनी गुरुङ २ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । इलाका प्रहरी कार्यालय बुटवलले करिब दुई महिना लामो अनुसन्धानपछि गत वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology