Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

म्याद सकिएको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’को टेन्डर कहिले ?

म्याद सकिएको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’को टेन्डर कहिले ?

  • 1.6K
    SHARES

  • म्याद सकिएको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’को टेन्डर कहिले ?

    बुटवल,माघ १९ ।

    बुटवलको पुरानो बसपार्कपछाडि रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ को पुनः टेन्डर प्रक्रियामा अलमल गरिएको छ । उपमहानगरपालिका–६ स्थित केन्द्रको सम्झौता अनुसार २०७८ साल भदौ २० गते नै व्यवसायीको म्याद सकिए पनि टेन्डर प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन ।

    विसं २०६४ मा त्रिपक्षीय करार सम्झौता अनुसार निर्माण सुरु भई २०६७ साल भदौ २० देखि यो केन्द्र सञ्चालनमा आएको हो । एक बिघा सात कट्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्यवसायीले व्यवसाय गर्दै आएका छन् । त्यतिबेला व्यवसायीसँग १० वर्षका लागि सम्झौता गरिएको थियो ।तत्कालीन समयमा कोभिडको कारण देखाई थोक बजार केन्द्र चलायमान बनाउन व्यवस्थापन समितिले पुरानै व्यवसायीलाई दिने सहमति गरेको थियो ।

    सोही आधारमा अहिलेसम्म बजार चलिरहेको छ । पुराना व्यवसायीहरूले वर्षौंदेखि एकछत्र आधिपत्य जमाएको भन्दै नयाँ व्यवसायी असन्तुष्ट बनेका हुन् । एक बिघा सात कट्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्यवसायीले व्यवसाय गर्दै आएका छन । अखिल नेपाल किसान महासङ्घले छिटो टेन्डर गर्न माग गरेको छ । प्रदेश अध्यक्ष महेन्द्र गिरीले त्यसका लागि ज्ञापनपत्रसमेत बुझाइएको बताउनुभयो ।

    तत्कालीन क्षेत्रीय कृषि निर्देशनालय पोखरा, बुटवल उपमहानगरपालिका र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको त्रिपक्षीय सम्झौता अनुसार यो बजार सञ्चालनमा आएको थियो । वर्षमा तीन करोडभन्दा बढीको आम्दानी गर्दै आएको कृषि उपज केन्द्र टेन्डरमा लैजान बुटवल उपमहानगरपालिकाले चासो देखाएको छैन । लुम्बिनी फलफूल तथा तरकारी थोक बिक्री सङ्घका महासचिव मेघराज पौडेलले व्यवसायीको लगानीबापतको रकम बहालबाट कटौती हुने गरी १० वर्षको सम्झौता गरिएपछि आफूहरू सम्झौताबिना भाडा वृद्धि गरेर बसेको बताउनुभयो ।

    बुटवल कृषि उपज थोक बजार सञ्चालन कार्यविधिमा पहिलो वर्ष १० वर्षका लागि लुम्बिनी फलफूल तरकारी थोक व्यापारी सङ्घको सिफारिस एवं समन्वयमा स्थान वितरण गरी इजाजत दिने उल्लेख छ । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा कृषि विभागले भवन निर्माण गरिदिए पनि यसको पूर्ण जिम्मेवारी बुटवल उपमहानगरपालिकाकै रहेको छ । टेन्डरको विषयमा बुटवल उपमहानगरपालिका उपमेयर सावित्रा अर्यालले विगतमा भएको सम्झौता, कानुन र राजस्वको विषय विस्तृत रूपमा हेरेर मात्र यो विषयमा बोल्ने  बताउनुभयो ।

    बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालले कोभिडका बेला सटरको बहाल सम्झौता सकिए पनि माथिल्लो तहबाट थप प्रक्रियाका लागि निर्देशन नआएको बताउनुभयो । सम्झौता सकिएपछि अब के गर्ने भनेर कृषि मन्त्रालयमा पत्राचार गरेको उहाँले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology