बुटवल,पुस १५ ।
रुपन्देहीको देवदहमा माघ अन्तिमसाताबाट आठौं देवदह महोत्सव हुने भएको छ । माघ २५ गतेदेखि आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव – २०८० शुरु भइ फाल्गुन ८ गतेसम्म चल्नेछ ।
देवदह–९ स्थित देवदह मण्डपमा महोत्सव संचालन हुने आयोजक संस्था देवदह उद्योग वाणिज्य संघले जनाएको छ । देवदहमा पत्रकार सम्मेलन गर्दै देवदह उद्योग वाणिज्य संघले महोत्सवको आयोजना र यसको तयारीबारे जानकारी गराएको हो । महोत्सव संचालनको लागि ५० लाख लगानी हुनेछ ।
शान्तिका अग्रदुत महामानव सिद्धार्थ गौतम बुद्धको पवित्र मावली स्थल देवदह क्षेत्रका व्यवसायी र उद्योगीहरुको संरक्षण, संवर्द्धन र विकास गरी उद्योगी र व्यवसायीहरुमा एकता र मैत्रीपूर्ण भावनाको वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको संघका अध्यक्ष हरि भण्डारीले बताउनुभयो ।
‘राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ एवम् सबल बनाउन उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायीहरुको संस्थागत विकास गर्ने उद्देश्यले आठौँ देवदह महोत्सव आयोजना गरेकाहौँ । ’ अध्यक्ष भण्डारी भन्नुभयो ।कृृषि क्षेत्र, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रुपमामात्र नभएर देवदहका ऐतिहासिक स्थलहरू भवानीपुर क्षेत्र, रोहिणी नदि, दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न पनि महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उहाँको अपेक्षा छ ।
विविध सांस्कृतिक कार्यक्रम सहित, डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत-लोकनृत्य प्रतियोगिता, मम्मी डान्स आईडल, फ्रि स्टाईल थ्री मिनेट कम्पिटिसन, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज (हात्ती सफारी, रथ यात्रा), योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव हुनेछ ।
“कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार“ भन्ने मूल नारासहित संचालन हुने महोत्सवमा १५० व्यावसायिक स्टल सहित कृषि र पर्यटनका अलग्गै स्टल रहने छन् । महोत्सवलाई व्यवस्थित रूपमा संचालन गर्न २३ वटा उपसमिति गठन गरिएको र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य लिईएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
१० करोडको व्यापार लक्ष्य राखिएको महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने आयोजकले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)