बुटवल,मंसिर १७ ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा तिलोत्तमा ५ मणिग्राममा सञ्चालित तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव २०८० सकिएको छ। सबल अर्थतन्त्रका आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने मूल नाराका साथ मंसिर १ गतेदेखि सञ्चालित मेलामा १३ करोडको कारोबार भएको संघका अध्यक्ष मेला आयोजक मूल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले बताए ।
मंसिर १२ गतेदेखि सञ्चालन लक्ष्य लिइएकोमा थप ५ दिन थपेर १७ दिन सञ्चालन भएको मेलामा ३ लाख ७५ हजार दर्शकले अवलोकन गरेको बताए।समापन समारोहलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देवी चौधरीले आर्थिक अवस्था जर्जर रहेको अवस्थामा मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने बताइन।चौधरीले उद्योगीका समस्या समाधानको लागि जनप्रतिनिधि सहितको सहभागिता रहने उल्लेख गरिन। उनले मेला स्थलमा स्थायी संरचना आवश्यक रहेकोमा त्यसको लागि आफूले आफ्नो तरिकाबाट सक्दो पहल गर्ने बताइन।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुल प्रसाद न्यौपानेले व्यवसायीलाई स्थायित्वको व्यवस्थापन मिलाउन सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे। उनले सबैले आ आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरे।कार्यक्रममा करहिया मक्रहर खानेपानी उपभोक्ता सरसफाइ संस्था अध्यक्ष यज्ञ गैरे, बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसाल, तिलोत्तमा ८ वडा अध्यक्ष कृष्ण पौडेल, प्रायोजक वसन्त रोका क्षेत्री स्टल व्यवसायी भगवती बस्याल लगायतले बोलेका थिए।
समापन समारोहमा मेलामा उत्कृष्ट प्रदर्शन गर्ने डिङ्गनगर दूरगामी सहकारी, ड्याडिच किचन, फर्साटिकर केरा व्यवसायी, सृजनशील संस्था र भैरव अचार उद्योगका स्टललाई क्रमशः प्रथम द्वितीय तृतीय र सान्त्वना (२ स्टल)लाई पुरस्कृत गरिएको महासचिव राजकुमार पाण्डेले जानकारी दिए।मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुगेको विश्वास लिइएको मेला आयोजक मूल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए ।
मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरिको प्रदर्शनी एवं बिक्री भएको संघका वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले बताए ।
प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिएको उद्योग उपाध्यक्ष सुरज पंगेनीले जानकारी दिए ।मेलामा औद्योगिक प्रविधि, रेस्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, आइटी लगायत विभिन्न प्रकृतिका २५३ स्टलहरू रहेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)
-
आइतवार, मंसिर १७ २०८००७:३१:४६
-