बुटवल,मंसिर ११ ।
रुपन्देहीको तिलोत्तमा स्थित मणिग्राममा जारी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवद्र्धन महोत्सव ५ दिन थप गरिएको छ । मेलामा अहिलेसम्म ९ करोड बढीको आर्थिक कारोबार भएको आयोजकले दाबी छ । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १ गतेदेखि जारी महोत्सवमा हालसम्म २ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेको अध्यक्ष गुणानिधि भण्डारीले जानकारी दिनुभयो ।
‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ दिन थप गरिएको आयोजकले जनाएको हो । दीपावली लगायतका कारणले दर्शक र व्यवसायीहरुको माग अनुसार १७ गते आईतबारसम्म मेला सञ्चालन हुने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ ।
कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजीका लागि महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ । मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका २५४ स्टलहरू रहेका छन् ।
स्थानीय उत्पादनहरुलाई विशेष प्राथमिकता दिइएको र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि निःशुल्क स्टलको व्यवस्था रहेको बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

महोत्सवलाई मनोरञ्जनात्मक बनाउनको लागि लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल लगायतका प्रतियोगिताहरु सञ्चालन भइरहेको प्रेस सल्लाहकार खिमानन्द भट्टराइले जानकारी दिनुभयो ।
मेलाको अवलोकनको लागि ८० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको महासचिव राजकुमार पाण्डेय बताउनुभयो । बिक्रि भएको टिकटको ५ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि छुट्टाइने उद्योग उपाध्यक्ष सुरज पंगेनीको भनाइ छ । सो मेलाको मंसिर १ गते नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा चन्द्र भण्डारीले गर्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)