जलेश्वर, साउन १६।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ।
महोत्तरीको मटिहानी नगरपालिकामा आयोजित राष्ट्रिय झण्डाको समुद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति यादवले मधेश प्रदेशको जनता तथा किसानप्रति संवेदनशील भएर कामकाज गर्न र यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, “मटिहानी आउनेक्रममा सडक छेउदेखि आँखाले ठम्याउनेसम्मका खेतहरूको अवस्था एकदमै दयनीय रहेको पाएँ, जताततै सुख्खा नै सुख्खा देखेँ ।”
सिँचाइको समस्या छदैछदा सुख्खाको समस्या पनि मधेस प्रदेश भरिनै थपिएको र यसले गर्दा पिउने पानीकोसमेत समस्या विकराल देखिएको बताउनुहुँदै यसप्रति संवेदनशील हुन सङ्घ र प्रदेश सरकारलाई निर्देशन दिनुभयो।उपराष्ट्रपति यादवले मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै सम्भवतः देशकै सबभन्दा ठुलो ११० फिटको अग्लो नेपालको झण्डा जडान गरेको र सो झण्डाको समुद्घाटन गर्न पाउँदा आफू हर्षित भएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालमै पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएको राष्ट्रिय झण्डालाई अबका दिनमा हेरविचार गर्न मटिहानी नगरपालिका र मटिहानीबासीलाई आग्रह गर्दछु ।”
नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशका जनप्रतिनिधिलाई जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो।उहाँले विकासको काम गर्दा जनतालाई केन्द्रमा राखेर काम गर्दा विकास दीर्घकालीन हुने बताउनुहुँदै ऐतिहासिक, धार्मिक नगरी मटिहानीको विकासले शिर सधैँ उच्चो बनाएको बताउनुभयो ।
आफू यसैक्षेत्रबाट विगतमा सांसदमा विजयी भएको सम्झना गर्नुहुँदै प्रदेश प्रमुख मिश्रले भन्नुभयो, “मटिहानी नगरपालिकाको अहिलेको विकास हेर्दा मन प्रफुल्लित हुन्छ र मधेश प्रदेशका सम्पूर्ण जनप्रतिनिधिलाई यहाँको विकासबाट सिक्न आग्रह गर्दछु ।’’
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यो सरकार जनताको भएको बत्ताउनुहुँदै जनताको सवालप्रति सरकार सदैव संवेदनशील भएको उल्लेख गर्नुभयो।
उहाँले यसक्षेत्रमा खानेपानी र पशुमा लाग्ने लम्पी स्किनको समस्या विकराल देखिएको बताउनु हुँदै पशुमा लाग्ने स्वास्थ्य समस्याको लागि भ्याक्सिन उपलब्ध गराइसकेको जानकारी दिनुभयो।उहाँले विगतमा यसक्षेत्रमा सिँचाइको समस्या भए पनि अहिले झन् खानेपानीको समस्या थपिएको बताउनुहुँदै यसको लागि सङ्घीय सरकारसँग छलफल गरिसकेको बताउनुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)