काठमाडौँ,साउन ८ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फौजदारी अभियोग लागेका जोकोहीलाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गरेका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले त्यस्ता नेता-कार्यकर्तालाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गरेका हुन्। उनले उक्त लिखित मत निर्णयको रूपमा समावेश गर्नसमेत माग गरेका छन्।
'कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण छुट पाउनु भएन। कांग्रेस भएकै कारण अतिरिक्त भारी पनि बोक्नु भएन,' उनले भने, 'जोकोहीलाई फौजदारी अभियोग लागेपछि आफैं पार्टीबाट अलग हुनुपर्छ। त्यो नगरिए पार्टीले निलम्बन गर्नुपर्छ।'
उनले त्यस्ता अभियोग लागेका नेताहरूलाई दोषी नहोउन् भन्दै कामना गरे। 'हामी कोसैलाई पनि त्यस्तो अभियोग नलागोस्। लागेका साथीहरू पनि निर्दोष सावित होउन्। यो मेरो मत निर्णयको रूपमा दर्ज होस्,' उनले भने।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)