बुटवल,साउन ६ ।
नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेस बलियो भएमात्रै देशमा लोकतन्त्र बलियो हुने बताउनु भएको छ । उहाँले काँग्रेसकै नेतृत्वमा राणा शासन अन्त्य २०४६ सालको परिवर्तन र २०६२-०६३ को आन्दोलनको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको स्मरण गर्नुभयो ।
उहाँले २०६२-०६३ को आन्दोलनबाट काँग्रेसका संस्थापक नेता महामानव विपि कोइरालाले देखेको सपना पुरा भएको बताउँदै लोकतान्त्रिक मुल्यमान्यता र समाजवादको बाटो पहिल्याउने नेता विपिका विचारको अहिले पनि उत्तिकै सान्दर्भिकता रहेको भनाई राख्नुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं. १ रुपन्देहीले शनिबार देवदहमा आयोजना गरेको माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै सहमहामन्त्री पाण्डेले विपिले देखाएको समाजवादको सपना पुरा गर्नको लागि पनि बलियो काँग्रेसको आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले गुटउपगुटका कारण अहिले काँग्रेस कमजोर भएको बताउँदै देशलाई बलियो बनाउन र नेता कार्यकर्ताको भविश्यको लागि पनि गुटउपगुटको अन्त्य हुनुपर्ने भनाई राख्नुभयो । त्यस्तै क्षेत्रीय सभापति हिराबहादुर खत्रीले विपि कोईरालाको योगदानको बारेमा चर्चा गर्न र उहाँको बारेमा विद्यार्थीलाई जानकारी गराउनको लागि पनि कार्यक्रम आयोजना गरिएको बताउनु भयो।
कार्यक्रम क्षेत्रीय उपसभापति नविनराज आचार्यको स्वागत तथा सचिव विजय गुरुङको सञ्चालनमा भएको थियो । काँग्रेसले देवदहमा गरेको वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम नेपाली काँग्रसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा देवदहको ग्रीनप्लान्ट आवासीय माध्यमिक विद्यालयका आर्यन धमला प्रथम भएका छन् । उनले प्रतियोगितामा सहभागि ३५ प्रतियोगिलाई पछि पार्दै प्रथम भएका हुन् । उनलाई प्रमाणपत्र सहित ८ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. १ रुपन्देहीले विपि स्मृति दिवसको अवसरमा शनिबार देवदहमा ‘बहुआयामिक व्यक्तित्व विशेश्वरप्रसाद कोइराला’ विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा क्षेत्र नं. १ का ३६ विद्यालय सहभागि भएका थिए । प्रतियोगितामा प्रविण नेपाली द्वितीय, जैविक पाठक तृतीय तथा दीक्षा केसी र ऋचा दुवे सान्त्वना भएका छन् ।
उनीहरुलाई प्रमाणपत्र सहित क्रमशः द्वितीयलाई ६ हजार, तृतीयलाई ४ हजार र सान्त्वना दुई जनालाई जनही १ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी गराउनु भयो । उनीहरुलाई नेपाली काँग्रेसका सहमहामन्त्री वद्रि पाण्डे, केन्द्रीय सदस्य अब्दुल रज्जाक, क्षेत्रीय सभापति हिराबहादुर खत्री लगायतका नेताहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस्तै प्रतियोगितामा सहभागि भएका विद्यार्थी र विद्यालयलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)