प्यूठान,जेठ २७ ।
प्यूठानको झिमरुक गाउँपालिका कर्मचारीमाथि कुटपिट भएको विरोधमा जिल्लाका सबै पालिकाका कर्मचारी आन्दोलित भएका छन्। झिमरुकका कर्मचारी दीपक जीसीमाथि भएको कुटपिटको विरोधमा त्यहाँका कर्मचारीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जिल्लाका सबै पालिकाका कर्मचारीले कालोपट्टी बाँधेर काम गर्ने निर्णय लिएका हुन्।
जेठ २४ गते दिँउसो कार्यकक्षमा नै पुगेर योजना तथा तथ्यांक शाखाका कर्मचारी जीसीमाथि गाउँपालिका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीसहित तीन जनाले कुटपिट गरेको कर्मचारीको आरोप छ। मिलनले तथानाम गालीगलौज गर्दै प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई अभद्र व्यवहार गरेको समेत आरोप छ।
‘धम्कीपूर्ण र अभद्र क्रियाकलापले कार्यस्थलमा कर्मचारीहरुले कार्य गर्ने वातावरणमा प्रतिकुल असर पार्ने र शान्ती सुरक्षामा समेत खलल पुर्याउनुका साथै कर्मचारीहरुको मनोवल समेत गिराइ सेवा प्रवाहमा गंभिर असर पर्न जाने हुँदा यस्ता गतिविधि नियन्त्रण गर्न र यस्ता अपराधजन्य घटनाको निश्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाहीका लागि सम्बन्धित सबै पक्षमा जोडदार माग गर्दछौँ,’ जिल्लाका सातै पालिकाका प्रमुख प्रशाशकीय अधिकृतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘झिमरुक गाउपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुले न्यायको लागि आवाज उठाउन अत्यावश्यक सेवा वाहेक अन्य सेवा स्थगित गरेको विषयमा प्यूठान जिल्ला अन्तरगत रहेका स्थानीय तहहरुमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुले ऐक्यबद्धता समेत जनाउँदछौं।’ कानुनसम्मत समस्या समाधानको बाटो पहिल्याउन उनीहरुको माग छ।
विज्ञप्तिमा स्वर्गद्वारी, ऐरावती, सरुमारानी, मल्लरानी, माण्डवी, नौबहिनी र प्यूठान पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको हस्ताक्षर छ।
गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले काम पूरा नभएको फाइलबाट भुक्तानीको दवावमा गलत काम भएको बताउँदै कर्मचारीमाथि जाइलाग्नेमाथि कारबाही हुनुपर्ने विषयमा आफू प्रष्ट भएको बताए।
‘झिमरुक गाउँपालिका वडा नं ३ का तीन जना युवाहरु रामबहादुर खड्का, मिलन एमसी र गोपाल खड्काले कार्यालयमा काम गरिरहेका कर्मचारी माथि गरिएको दुर्व्यवहार र हातपातप्रति मेरो गम्भीर ध्यानआकर्षण भएको छ,’ उपाध्यक्ष पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कर्मचारीको मनोबल गिराउने र योजना अनुगमन प्रभावित पार्ने गरी भएको यो घटनाले सुरक्षा चुनौती बढाएको भन्दै उनले दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
पालिका अध्यक्ष पितबहादुर एमसीले कार्यकक्षमै यस्तो घटना हुनु राम्रो नभएको भन्दै आफ्नो छोराले त्यो घटनाको नेतृत्व गरेको भन्ने विषय गलत भएको जिकिर गरेका छन्। यस विमयमा पालिकाको कार्यालयमा कर्मचारीहरूसँग छलफलको प्रयास भइरहेको उनले बताए।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)