बुटवल,जेठ ४ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले ढिलोमा आइतबारसम्म प्रदेश सरकार बिस्तार हुने बताएका छन् ।
जनमत संचार केन्द्र नेपालद्धारा बिहिबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता पाण्डेयले ढिलोमा आइतबारसम्म प्रदेश सरकार बिस्तार हुने बताएका हुन् ।
गठवन्धनको सरकार भएकाले सबैलाई मिलाएर जानू पर्ने भएकाले सरकार बिस्तारमा ढिलाइ भएको भन्दै उनले शुक्रबारसम्म मन्त्रालयको बाडफाड टुंगिने र आइतबारसम्म सरकार बिस्तार हुने बताए ।
उनले नेपाली कांग्रेसले ३, माओवादीले ३ र अन्य दलहरुले १-१ मन्त्रालय लिने सहमती भइसकेको बताए । सरकार विस्तारसँगै प्रदेश सभाको बर्षे अधिवेशन आह्वानका प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने तयारी भैरहेको पनि उनले जानकारी गराए ।
उनले एक मन्त्रालय थप गर्ने बिषयमा छलफल भैरहेको बताए ।
सरकार बिस्तारपछि संघीयताको औचित्य पुष्टि गर्नेगरी काम गर्ने दाबी गरे ।केन्द्रीय नेतृत्वमा रहेको केन्द्रीकृत मानसीकता अझै हटिनसकेको बताउदै प्रवक्ता पाण्डेयले संघीयता कार्यान्वयनका लागि संघीय सरकारसँग निर्णायक बार्ता गर्ने बताए ।
संघीयता कार्यान्वयन नहुँदा जनताले संघीयताको अनुभुती गर्न नपाएको बताउदै उनले सरकार बिस्तारसँगै संघीयता कार्यान्वयनका लागि लबिङ गर्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)