बुटवल, वैशाख २१।
लुम्बिनी प्रदेशको बेरुजु बढ्दै गएको छ। प्रदेश संरचना बनेको पाँच वर्षमै बेरुजु ३ अर्ब ५ करोड ८१ लाख पुगेको हाे । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजु डेढ अर्ब बढेको छ।
महालेखापरीक्षक कार्यालयका उपमहापरीक्षक वामदेव शर्मा अधिकारीका अनुसार आर्थिक वर्ष २०७८-७९ को प्रतिवेदनअनुसार १ अर्ब ४९ करोड ८० लाख ८५ हजार बेरुजु थपिएको हो। यो सँगै लुम्बिनी प्रदेशको बेरुजु ३ अर्ब ५ करोड ८१ लाख पुगेको छ। गत आर्थिक वर्षमा १ अर्ब ७० करोड ७६ लाख ४० हजार बेरुजु देखिएकोमा १४ करोड ६६ लाख ५० हजार सम्परीक्षण भई १ अर्ब ५६ करोड ९० हजार फछ्र्योट हुन बाँकी रहेको थियो।
महालेखापरीक्षक कार्यालयका उपमहालेखापरीक्षक अधिकारीले बेरुजु रकम सबै भ्रष्टाचार नै भएको नबुझ्न आग्रह गरे। ‘बेरुजु सबै भ्रष्टाचार नै होइन, त्यसरी बुझ्नु हुदैन,’ उनले भने। काम भएर पनि खर्च नगरिएको, खर्चअनुसारको बिल भरपाई पेस नभएको, शीर्षक नमिलेको लगायतका कारण पनि बेरुजु देखिने गरेको छ।
महालेखापरीक्षकको कार्यालयले केही दिनअघि प्रदेश प्रमुखलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियोे। महालेखाले बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८-७९ मा विभिन्न सरकारी कार्यालयमा १ अर्ब २४ करोड ४८ लाख ५३ हजार बेरुजु देखिएको छ।सोमध्ये ६ करोड ६८ लाख ८९ हजार असुल हुनुपर्ने देखिएको छ भने ७ करोड ४१ लाख २१ हजार अनियमित देखिएको छ। यसैगरी ३१ करोड ५५ लाख २४ हजार रकमको कागजात पूरा भएको छैन।
यसैगरी १२ करोड १२ लाख ३० हजार रकम कर्मचारी तथा अन्य शीर्षकमा पेस्की देखिएको छ। यसैगरी सोही आर्थिक वर्षमा समिति तथा अन्य संस्थाहरूमा २५ करोड ३२ लाख ३२ हजार बेरुजु रकम देखिएको छ। लुम्बिनीमा कानुनविपरीत रकम बुझेर असुल नै गर्नुपर्ने बेरुजु पौने ७ करोड छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)