बुटवल,मंसिर १७-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा कार्यक्रम गरेको भन्दै कांग्रेस नेता पौडेललाई प्रहरीले तनहुँबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वरिष्ठ नेता पौडेलले सुरक्षा घेरा तोडेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बताएका छन् । वरिष्ठ नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको जानकारी दिएका छन् ।
ब्यास नगरपालिकाले अधिकार क्षेत्र मिच्दै ब्यास नपा–१३ को सोंढे र ऋषिङ गाउँपालिकाको वडा नम्बर ३ जोड्ने सेती नदी माथिको मोटरेबल पुल उद्घाटनको कार्यक्रम राखेको थियो ।
संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा सडक डिभिजन कार्यालय दमौलीले निर्माण गरेको उक्त पुलको पौडेलले उद्घाटन गर्ने तयारी गरेपछि त्यहाँ विरोध प्रदर्शन भएको थियो ।
झडप हुने अवस्थालाई ध्यान दिँदै स्थानीय प्रशासनले उक्त ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । कांग्रेस नेता पौडेलले उक्त पुलको उद्घाटनका लागि निषेधित क्षेत्र तोडेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)