काठमाडौं, फागुन १७ ।
मनाङबाट प्रतिनिधिसभा सांसद निर्वाचित नेपाली कांग्रेसका टेकबहादुर गुरूङ र पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर्याएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै गुरूङ र न्यौपानेसहित ९ जनालाई विशेष अदालतको इजलासले मंगलबार दोषी ठहर गरेको हो। दोषी ठहरिएकाहरूलाई सजाय तोक्न भने बाँकी छ।
गुरूङले मनाङबाट सांसद जिते पनि उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकाले सांसद पद निलम्बित थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फनपार्क सञ्चालनमा भ्रष्टाचार भएको भन्दै २०७५ माघ २१ मा १४ जनाविरूद्ध मुद्दा दायर गरेको हो। तीमध्ये ५ जनालाई अदालतले सफाइ दिएको छ।
गुरूङ त्यो बेला फनपार्कका मेला सञ्चालक थिए भने न्यौपाने तालुकवाला महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए। दोषी ठहरिएका अरू ७ जना समाज कल्याण परिषदका तत्कालीन सदस्य-सचिव रवीन्द्रकुमार यादव, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारी प्रसाद चौधरी लगायत छन्।
आयोगले फनपार्कको जग्गा ठेक्का प्रकरणमा २ अर्ब ८३ करोड ६८ लाख रूपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै उनीहरूविरूद्ध मुद्दा दायर गरेको थियो। ठेक्का लिँदा मिलेमतो भएको अख्तियारको दाबी थियो।
सम्पूर्ण करसहित ५ लाख ५५ हजार भाडा तथा समयावधि बढाएर १५ वर्षका लागि फनपार्क मेला सञ्चालन गर्न ठेक्का दिने निर्णय गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ। सरकारले कुनै पनि कामको ठेक्का गर्नुपरे टेन्डर आह्वान गर्नुपर्नेमा त्यसबमोजिम नगरिएको पनि अख्तियारले भनेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)