काठमाडौँ,मंसिर १९ ।
सत्ता गठबन्धनमा आवद्ध दलहरू अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमत भएका छन् । सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।
'चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरियो । बैठकले आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ,' नेता भुसालले बताए ।
निर्वाचन सम्पन्न भएपछि सत्ता गठबन्धन दलहरूको यो पहिलो बैठक हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेताहरू सहभागी थिए । चुनावमा गठबन्धन गरेको दल लोसपाका नेता भने बैठकमा सहभागी थिएनन् ।
चार दलले निकालेको संयुक्त वक्तव्य
मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधि सभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ।
हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्टसन्देश दिएको छ।
निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिनेछ ।
गठबन्धनप्रति आ मतदाताले दर्साएको विश्वास र मायाप्रति हामी आभारी छौं। आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं। निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै हामी गम्भीर समिक्षाका साथ अघि बढ्ने छौं।
निर्वाचनमा सहभागि सम्पूर्ण मतदातालाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
साथै शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा सहभागि राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, राष्ट्रिय र अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षक लगायत सबैलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)