काठमाडौं,मंसिर ६ ।
काठमाडौं क्षेत्र नम्बर ४ को मत गणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा हालसम्म ३८ हजार ५२५ मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री गगन थापा १९ हजार १४ मतसहित अगाडि छन् ।
त्यस्तै थापाका प्रमुख प्रतिस्पर्धी एमालेका राजन भट्टराई १३ हजार २७ मतसहित पछ्याउँदै छन् । त्यस्तै राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले ३ हजार ११८ मत ल्याएका छन् भने स्वतन्त्रबाट लौरो चुनाव चिह्न पाएका अर्चनशम्शेर राणाले एकहजार १० मत पाएका छन् ।
बुढानिलकण्ठ नगरपालिकाका वडाहरूको मत गणना भैसकेको छ । अहिले काठमाडौं महानगरमा पर्ने वडा नम्बर ८ र ३० नम्बर वडाको मत गणना भइरहेको छ ।
अपडेट:
काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०२ मत पाए भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)