बुटवल,कार्तिक २६ ।
बुटवलको कालिकापथको विस्तार र सौन्दर्यकरणका कामलाई चाँडो पूरा गर्न स्थानीयले यहाँका नेताहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सडकको विस्तार र सौन्दर्यकरणसंगै आकर्षक रात्रीकालिन बजारका रुपमा विकास गर्ने योजना समेत बनाउन माग गरेका छन् ।
साँघुरो र अतिक्रमित सडकलाई विस्तार गरि आकर्षक र यसक्षेत्रकै नमुना आन्तरिक बाइपासका रुपमा विकास गरिएको छ । उक्त सडकको योजना ल्याउने र कार्यान्वयनमा लैजाने नेताहरु कालिकापथकै घरदैलोमा आएका बेला यहाँका स्थानीयले उक्त आग्रह गरेका हुन् ।
अहिले उक्त सडकको दुबै तर्फको निकास र केही क्षेत्रमा कालोपत्रे गर्न बाँकी छ । बाँकी रहेको कामलाई छिटो सक्न स्थानीयले माग गर्दै आएका छन् । कालिका पथका विभिन्न टोलमा बिहान पुगेका विष्णुप्रसाद पौडेल र लिला गिरीलगायतका नेताहरुले विकासका काममा नागरिक स्तरबाट पनि निरन्तर निगरानी र खबरदारीको खाँचो रहेको बताए ।
उनीहरुले निर्माण व्यवसायीका काममा निगरानी गर्न र आवश्यक परेका बेलामा जनस्तरको पनि सहयोग गर्न आग्रह गरे ।निर्वाचन केन्द्रित कार्यक्रम लिएर बुटवल–९ कालिका पथ र त्यहाँका विभिन्न टोलमा पुगेका एमाले नेता एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले नेता तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा उक्त सडकको विस्तारमा सुरुदेखि नै केन्द्रित रहेका लिला गिरी, महिला अगुवा ज्ञानु केसीसहित पूर्व जनप्रतिनिधिहरुको टोलीलाई स्थानीयले अधुरो काम छिटो पूरा गर्न माग गरेका थिए ।
नमुना सडकका रुपमा विकास गरिएको कालिका पथको बाँकी काम पूरा गर्न र हरियालीसहितको फुटपाथ निमाणको अधुरो कामलाई चाँडो सकेर शौन्दर्यकरण गर्न माग गरिएको वडाका अगुवा बाबुराम बोहोराले बताए ।
सडक विस्तारका काममा सुरुदेखि नै खटिएका युवा नेता बाबुराम पन्थी, पर्यटन व्यवसायीहरु माधबकुमार नेपाल, रामप्रसाद गौतम, माधवकुमार खनाल, उपभोक्त हीत संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, मोहन पाण्डे, पूर्व वडाअध्यक्ष विष्णुबहादुर थापा, एमाले नेता भोजबहादुर बुढाथोकी, शिवबहादुर अधिकारी, बिमला श्रेष्ठ, बद्रीनाथ पाण्डेलगायतले कालिका पथको विस्तारले बुटवलको मुहार फेरिएको भन्दै चाँडो निर्माण सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)