Logo बुधवार, कार्तिक १२ गते २०८३
images

प्रदेश १ का वनमन्त्री एवं कांग्रेसका मोरङ ३(१)का उम्मेद्वारको निधन

प्रदेश १ का वनमन्त्री एवं कांग्रेसका मोरङ ३(१)का उम्मेद्वारको निधन

  • 1.5K
    SHARES

  • प्रदेश १ का वनमन्त्री एवं कांग्रेसका मोरङ ३(१)का उम्मेद्वारको निधन

    उर्लाबारी,कात्तिक २३ ।

    प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवं मोरङ ३ (१) मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार शेखरचन्द्र थापाको बुधबार नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको छ । बुधबार बिहान १०ः४० बजेतिर थापाको निधन भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताउनुभयो । 

    मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखुवराका स्थायी घर भएका ५८ वर्षीय थापा असोज २३ गते मनोनयन दर्ता गरे लगत्तै बिरामी पर्नुभएको थियो । डेंगु सङ्क्रमण पुष्टि भएपछि नोबेलमै उपचार गराइरहनुभएका थापालाई निमोनिया र पायल्स देखिएपछि थप उपचारका लागि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । 

    २५ दिनपछिको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको थियो । थापालाई सोमबार विराटनगर ल्याइएको उहाँका स्वकीय सचिव रोशन पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि गत सोमबार पुनः नोबेलमा भर्ना गरिएको थियो ।

    मोरङको पथरीशनिश्चरे ८ स्थित बुद्ध माध्यमिक विद्यालयमा २०४२ सालदेखि अध्यापन गराउनुभएका थापा २०४६ सालमा बहुदल आएपछि पहिलो पटक तत्कालीन मोरङ २ मा पार्टीको क्षेत्रीय सभापति बन्नुभएको थियो । 

    वि.सं. २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि उहाँको ८ वर्ष निजी सचिव भएर काम गर्नुभएका थापा २०७० को संविधान सभा निर्वाचनमा मोरङ २ बाट नेपाली काङ्ग्रेसको उम्मेद्वार बन्नुभयो । २०७४ मा प्रदेश १ बाट समानुपातिक सांसद निर्वाचित हुनुभएका थापा नौ महिना अघि प्रदेश नं.१ को वन, वातावरण तथा भू–संरक्षण मन्त्री बन्नुभएको थियो । यो पटक उहाँ पार्टीको तर्फबाट मोरङ ३ ‘क’ को प्रत्यक्षतर्फको उम्मेद्वार हुनुहुन्थ्यो ।  थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

    थापाको निधन भएपछि त्यो क्षेत्रमा कांग्रेसको उम्मेदवारका विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ । निर्वाचन अधिकृतको कार्यालयले निधनका विषयमा जानकारी गराएपछि आयोगले अरु गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयनलगायतका प्रक्रिया अघि बढाउने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार निधन भएका उम्मेदवारको दलले मात्र उम्मेद्वारी दिन पाउने व्यवस्था छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology