बुटवल,कार्तिक २० ।
नेकपा (एमाले)का नेता शेषकान्त गौतमले नेकपा (एकीकृत समाजवादी)की उमेदवार रामकुमारी झाँक्रीको पक्षमा मतदान गर्न आह्वान गरेका छन् । उनले गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेकी झाँक्रीको पक्षमा मत मागेका हुन् ।
आइतबार विज्ञप्ति जारी गर्दै गौतमले लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याएकी झाँक्रीलाई मत दिनु उचित ठानेको उल्लेख गरेका छन् ।
गुल्मी–२ बाट एमालेका गोकर्ण विष्ट पनि उमेदवार छन् ।गौतम प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि एमालेको स्थानीय कमिटीबाट सिफारिसमा परेका थिए ।
फरक पार्टीका उम्मेदवार झाँक्रीलाई समर्थन र सहयोग गर्ने घोषणा गरेका उनले पार्टी परित्याग भने नगरेको उल्लेख गरेका छन् । रामकुमारीलाई सहयोग गरेकै कारण पार्टीले कारबाही गरे भोग्न तयार रहेको उनले बताएका छन् ।
गोकर्णको विपक्षमा उभिएका शेषकान्तले गुल्मेली चेली भन्दै रामकुमारीलाई मतदान गर्न समेत अपिल गरेका छन् । उनले भनेका छन्– ‘कुनै राजनीतिक परिवारका कारण अगाडि नबढेकी र गुल्मेली गहना चेलीलाई समर्थन गरेर विजयी गराई पठाउन सम्पूर्ण गुल्मेलीहरूलाई आग्रह गर्दछु ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)