Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मंसिर ४ को प्रतिनिधसभा चुनाव नलड्ने डा. बाबुराम भट्टराईको घोषणा

मंसिर ४ को प्रतिनिधसभा चुनाव नलड्ने डा. बाबुराम भट्टराईको घोषणा

  • 1.5K
    SHARES

  • मंसिर ४ को प्रतिनिधसभा चुनाव नलड्ने डा. बाबुराम भट्टराईको घोषणा

    काठमाडौं,असोज १७ ।

    पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले फेसबुकमा लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

    यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए ।

    २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् । उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’ चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले लेखेका छन् ।

    आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधार बनाएको पनि उनले लेखेका छन् । ‘मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु,’ उनले फेसबुकमा लेखेका छन् ।

    भट्टराईले लेखेको स्टाटस : 

    ‘प्रिय गोरखा, २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यूभाइहरूमा अन्तःहृदयदेखि आभार ब्यक्त गर्दछु । आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु । मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरू भएका आयोजना पूरा हुन बाँकी छन् ।

    बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु । २०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ । आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु ।

    चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु । म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु । मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहाँका साथमा हुनेछु ।

    आसन्न वडादशैँ, तिहार, नेपाल सम्वत् नयाँ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना !’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology