बुटवल,कार्तिक १५ -
नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५०८ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ।
हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्। हालसम्म पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ४३ हजार ३४३ पुगेको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४ सय १० रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। योसँगै नेपालमा १ लाख ३१ हजार २२२ जना संक्रमित उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३५७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)