बुटवल,कार्तिक १४-
सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।
अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो ।
दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । उनलाई डा. अनुपा थापाले जाँच गरेकी थिइन् ।अस्पतालको लापर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ ।
मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेट अगाडि जम्मा भएर विरोध जनाएका छन् ।
डाक्टरले कात्तिक ८ गते सुत्केरी हुने मिति तोकेपनि मिति सार्दै १३ गते बोलाइएको गिरीले बताए । भर्ना भएपछि २ बजे डाक्टरले बच्चा ‘नर्मल’ छ भनेका, पछि फेरि चेक गर्नुप¥यो भनेका र अन्तिममा बच्चाको धड्कन कम देखियो भनेर शल्यक्रिया गर्नुपर्छ भनेका गिरीले बताए ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा घर खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताए ।
केही समयमा महिलालाई श्वास प्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमले बताए ।
बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिकरुपमा आमाको मृत्यु हुने गरेको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)