बुटवल,असार ७ ।
सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिमा थप गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले बझांगी राजा सिंहलाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय गरेको हो ।
नेपाली भाषा, साहित्य, शिक्षा, पत्रकारिता, न्यायिक तथा प्रशासनिक सुधारका क्षेत्रमा योगदान पुर्याएका जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग हुँदै आएको थियो ।
बुवा विक्रमबहादुर सिंह र आमा रुद्र कुमारी सिंहको कोखबाट विसं १९३४ भदौ ७ मा बझाङमा जन्मिएका थिए– जय पृथ्वी ।
नेपाली भाषाको पहिलो किताब ‘अक्षरांक शिक्षा’ का लेखक, बझाङका सुधारवादी राजा, गोरखापत्रका संस्थापक जस्ता पहिचान पनि उनीसँग जोडिएका छन् ।
सन् १९१३ मा नोबेल सहित्य पुरस्कार पाएका एसियाका प्रथम साहित्यकार रविन्द्रनाथ ट्यागोरको सन् १९३१ मा छापिएको ‘दि गोल्डेन बुक अफ दि ट्यागोर’ मा समेटिएका एक मात्र नेपाली हुन् उनी ।
३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथि बनेर पुग्ने एक्ला नेपाली पनि उनी हुन् ।
यस्तै, सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म युरोपमा आफ्नो मौलिक दर्शन मानवतावादको प्रवचन दिन आमन्त्रण गरिएका एक्ला नेपाली पनि जय पृथ्वी नै हुन् ।
उनले सन् १९२८ को मार्च ८ मा निर्वासित जीवनकालमै दक्षिण भारतको बैंगलोरमा मानवतावादी क्लबको उद्घाटन गरेका थिए । सोही वर्ष मानवतावाद भन्ने पुस्तक लेखेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)