बुटवल,कार्तिक १८।
बुटवल उपमहानगरपालिकाको सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा आर्थिक बर्ष २०८३-०८४ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
बुटवलको ऐतिहासिक जितगढी किल्लामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले आफ्नो कार्यकालको अन्तिम समयमा आइपुग्दा बुटवललाई सबैको साझा थलोको रूपमा विकास गर्ने पर्यत्न गरेको भन्दै नगरबाट प्रवाह हुने सेवा सुविधा सहज बनाउने प्रयास गरेको बताए ।
बुटवल उपमहानगरपालिकालाई देशकै प्रमुख आर्थिक केन्द्रको रूपमा विकास गर्नेगरि योजना अगाडि बढाइएको भन्दै नगर प्रमुख पाण्डेयले विकास निर्माणका काममा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालय भवन मर्मत सम्भारका लागि संघीय सरकारबाट सहयोग हुन्छ कि भनेर पर्खदा ढिलाइ भएको प्रस्ट्याउदै उनले केन्द्र बाट सहयोग नभएपछि चालू आर्थिक बर्ष भित्रै मर्मतको काम सुरु गर्ने योजना रहेको जानकारी गराए ।
सो अवसरमा सहभागी स्थानीयहरूले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालयको मर्मत सम्भार,अधुरा योजना पुरा गर्ने सुनिश्चितता,सुकुम्बासी तथा अव्यवस्थित बसोवासी समस्या,कतिपय ठाउँमा मापदण्ड बिपरित नदिजन्य पदार्थको उत्खनन्,शुद्व पिउने पानीको ब्यवस्थापनलगायतका बिषयमा जिज्ञासा राखेका थिए ।
बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रा देवी अर्यालले बुटवलको खानेपानीको मुख्य स्रोत दुषित रहेकोले त्यसलाई स्वच्छ बनाउन खानेपानी संस्थानसँग समन्वय भइरहेको जानकारी दिइन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक राजन पाण्डे,नेकपा एमालेका नगर अध्यक्ष शोभाकर पोखरेल,नेपाली कम्युनिस्ट पार्टी बुटवलका संयोजक महेन्द्र भुसाल,राप्रपा बुटवलका अध्यक्ष लक्ष्मण श्रेष्ठ,नेकपा माओवादी बुटवलका इन्चार्ज बिष्णुप्रसाद बेलबासे,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवात्सवलगायतले कार्यक्रमको आवश्यकता र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।
खस्यौली एफएमको सहजिकरणमा सम्पन्न कार्यक्रममा एफएमका कार्यक्रम संचालक समेत रहेका युगराज बस्यालले बुटवल उपमहानगरपालिकाको सेवा प्रवाह बारे गरिएको सर्वेक्षण प्रस्तुत गर्दै कार्यक्रम संचालन समेत गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)