बुटवल,जेठ १३ ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको बुटवलको मुख्य सडक मर्मतको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख खेलराज पाण्डेयको सक्रियतामा सडक मर्मत तथा कालोपत्रे हुने भएको छ ।
नगरमा निर्बाचित भएर कार्यभार सम्हालेको दोस्रो दिनमा नै सडक र सरोकारवाला निकायका बिचमा बैठक बसेर सडक निर्माणलाइ तिब्रता दिने निर्णय भएको थियो ।
नगरकै निर्णयका आधारमा सर्बपक्षीय छलफलले बाटो निर्माणमा सहमति जुटेपछि शुक्रबार बिहानबाट बुटवलको राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्मको सडक तत्काल मर्मत,कालोपत्रे ,ढलान गर्न शुरु भएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
‘हाम्रो पहलमा सबैको सहयोगमा आवश्यकताका आधारमा सडक मर्मत,कालोपत्रे,ढलानको काम आरम्भ भएको छ,चौराहामा रहेको प्रथम सहिद लखन थापाको शालिक वरिपरिको भत्किएको भागमा ढलान,त्यस्तै पुष्पलाल पार्क (अस्पताललाइनमा) पनि ढलान,नाली निर्माण हुनेछ,बुटवलका सबै खाल्डाखुल्डी पुरिनेछ भने भुड्कीचोकदेखि ट्राफिकचोक भूपीशेरचन चोकसम्मको सडकलाइ कालोपत्रे गर्ने प्रकृया अगाडि बढाएका छौं । ’उनले भने ।
तत्काल बुटवलका नागरिकलाइ धुलो, धुवा र फोहोरमैलाको प्रदुषणबाट टाढा राख्ने योजना रहेको नगरप्रमुख पाण्डेयको भनाइ छ । उनले आफुले सबैलाइ समेटेर जाने प्रकृयाको थालनी गरेको भन्दै आफ्नो कार्यकक्षमा जननायक वीपी कोइराला र कम्युनिष्ट पार्टीका संंस्थापक पुष्पलालको फोटो राखेको समेत नागरिक अनलाइनलाइ बताए ।
उनले बुटवल ज्योतिनगरको पहिरो ब्यबस्थापन र करिब १४ हजार अब्यबस्थित सुकुम्बासीलाइ बसोबासका आधारमा प्रमाणपत्र बितारणको प्रकृया छिट्टै पुरा हुने समेत जानकारी दिए । जेठ १० गतेको उपमहानगरमा बसेको बैठकले माइन्युट नै उठाएर कामको निदेशन दिएको उपप्रमुख साबित्रादेवी अर्यालले बताइन् ।
ब्यापारिक मार्ग निर्माणको ठेकेदार कम्पनीलाइ निर्माण गर्न निर्देशन दिइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले बताए । उनले ठेकेदारले कसरी काम गर्छ त्यो हेर्न बांकी रहेको बताउछन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)