बुटवल,फागुन २९ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले नेपाली जनतालाई धोका दिएको आराेप लगाएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार सुरु गरेको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानको भैरहवामा उद्घाटन गर्दै राणाले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिन भन्दा पनि देशको परिस्थितिले सरकारको नेतृत्व गर्नुपरेको बताए ।
पूर्व अर्थराज्यमन्त्री समेत रहेका उनले भने, ‘पाँच वर्षका लागि जनताले सरकारको नेतृत्व गर्ने अवसर कम्युनिष्ट पार्टीलाई दिए पनि त्यो हुन सकेन, पाँच वर्षसम्म चलाउन दिए पनि जनताको विश्वासमाथि धोका भएपछि काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको छ ।’ उनले बहुमत भन्दा पनि गठबन्धन सरकारले चाहे भने काम गर्न सक्छ भन्ने देखिएको बताए । देउवा नेतृत्वको सरकारको प्राथमिकता नै खोपको अभियान रहेको उनले बताए ।
‘काँग्रेसले जे बोल्छ त्यही नै गर्छ, यसपटक काँग्रेसलाई जिताउनुपर्छ, यो भनेको नेतालाई होइन, तपाई हामी आफै जित्नुपर्छ, उनले भने । आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक पालिकाले छुट्टै घोषणापत्र समेत बनाउन आवश्यक रहेको बताए । उनले विगतमा रुपन्देहीमा स्थानीय तह निर्वाचनमा व्यवस्थापन नभएकै कारणले दुईवटा पालिकामात्र काँग्रेसले जितेकोले यसपटक राम्रो व्यवस्थापन मिलाउन सके बहुमत पालिका जित्ने बताए ।
एमसीसी प्रस्ताव नेपालको पूर्वाधार विकासका लागि माग गरिएको नेता राणाले बताए । एमसीसीको विषयमा काँग्रेसका नेताहरुको एउटै धारणा रहेको उनको भनाइ थियो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी प्रस्ताव अगाडी बढे पनि देउवा सरकारको नेतृत्वमा आइसकेपछि संसदमा टेबुल हुँदै छलफल पश्चात बहुमतबाट पारित भएको उनले बताए । ‘ओली सरकारमा हुँदा जसरी पनि पास गर्नुपर्छ भन्ने कुरा आउँथ्यो, तर त्यही पार्टी विपक्षमा रहँदा बोल्न सकेन, ’उनले भने ।
एमालेका नेताहरुले एमसीसीबारे फरकफरक धारणा राखेको उनले बताए । नेता राणाले भने, ‘सरकारमा रहँदा एउटा बोल्ने र विपक्षमा हुँदा एउटा बोल्ने, छेपारोले रंग फेरेझैं एमाले जस्तो काँग्रेस होइन्, एमसीसीबारे काँग्रेस स्पष्ट छ ।’ काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले सक्रियताका साथ निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे ।
लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्याल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य गंगा शाही, रुपन्देही क्षेत्र नम्बर ५ का सभापति वसिउल्ला मुसलमान, ३ का सभापति सुशील गुरुङ, २ का सभापति हरि लम्साल, क्षेत्र नम्बर ३९१०का सभापति सुरेन्द्र जंग राणा, बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे, गैडहवा गाउँपालिका सभापति सत्यनारायण पथिक, तिलोत्तमा–८ का सभापति ले बोल्दै मुलुकलाई काँग्रेसमय बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्व,उपसभापति अनिता ढुंगाना शाहको स्वागत तथा सचिव हरि काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान आगामी चैत २९ गतेसम्म चल्ने काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)