बुटवल,फागुन २८।
हिजोदेखि कपिलबस्तुको बाणगंगा चारनम्बरमा शुरु भएको मानव अधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक बिभिन्न एजेण्डा पास गर्दै समापन भएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार भन्ने मूल आह्वानसहित भएको परिषद् बैठकमा रुस युक्रेनबिच युद्ध निधेषका लागि आब्हान गरिएको छ । बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा: सबैको अधिकार भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको हाे ।
न्यायालय शुद्धिकरणका लागि विशेष पहल गर्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गरि निजलाई पदच्युत गर्न र अनेकौ अनियमिततामा संलग्न चोलेन्द्र शम्शेरलाई आवश्यक कारबाई गर्न समेत राष्ट्रिय परिषद् बैठकले माग गरेको छ ।
बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको लागि योगदान गर्न आह्वान गरेको छ ।
एक निष्पक्ष संस्थाको रुपमा मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा पनि राष्ट्रिय परिषद् बैठकले प्रस्ताव पारित गरेको छ ।
उदघाटनसत्रमा नागरिक अगुवा डा.देबेन्द्रराज पाण्डेले शान्ति समाजले बोकेका मुद्दाहरू राजनीतिक दलहरूले आफ्ना एजेन्डा बनाउनुपर्ने बताएका छन्। पाण्डेले अहिलेको अवस्थामा नेपालको राजनीति र दलहरू निकै कमजोर र अस्तब्यस्त देखिएको बताए।
समाजका संस्थापक सभापति कृष्ण पहाडिले अब फेरि अदालत फर्केर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले न्यानसम्पादन गर्न नहुने बताए । उनले शान्ति समाजले थालेको युद्ध निशेधको अभियानलाई धेरैले खिसिट्युरे गरेको भन्दै अहिले संसारभर नै युद्ध निषेधको अभियान चलेको बताए। उनले आफूहरूको एजेन्डामा सबैको साथ रहेको बताए। पहाडीले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र शान्तिका पक्षमा उभिन आग्रह गरे ।
पुर्वमन्त्री दिपकुमार उपाध्यायले दलहरू निर्वाचनमा केन्द्रित भएको भन्दै लोकतन्त्रको रक्षा, संरक्षण गर्नेहरूले जित्नुपर्ने बताए। समाजका केन्द्रीय सभापति गोबिन्द खनालले युद्ध बिरोधी अभियानलाई अझै शशक्त र व्यापक बनाईने बताए।
सो अबसरमा पुर्व सभापति गंगाधर अधिकारी,उत्तम पुडासैनी,कृष्ण कडेंल,संविधानसभा सदस्य बिनोद पहाडि,नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं,महासचिव रामकृष्ण बराल,जनता समाजबादी पार्टीका प्रतिनिधि अब्दुल रसिद खान, वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
यस्तै मानव अधिकार तथा शान्ति समाज रूपन्देही शाखा लगातार तेस्रोपटक देशभरमै उत्कृष्ट बनेको छ।देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै कपिलवस्तुमा आयोजित २४ औं राष्ट्रिय परिषद् बैठकमा प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको हो।
सम्मान ग्रहणपछि सभापति डिपि खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताए। रूपन्देही शाखा यसअघि पनि पोखरा र दाङमा सम्पन्न राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले जानकारी दिए।
राष्ट्रिय परिषद् बैठक विभिन्न जिल्लाबाट २०० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)