बुटवल,पुस २६ ।
नेपाल-भारत सीमा क्षेत्र रुपन्देहीको बेलहियास्थित हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी- कर्मचारी नै कोभिड-१९ को संक्रमणमा परेका छन् । दैनिक रुपमा काममा खटिने कर्मचारी नै कोरोनाको सिकार भएपछि अन्यलाई त्रास उत्पन्न भएको छ भने सेवा नै प्रभावित हुने अवस्थामा पुग्न थालेको छ ।
१६ जना मध्ये ५ जनालाइ कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ नगरपालिकाका ८ जना , प्रोजेक्टका ६ जना,कार्यालय सहयोगी २ जनाले सेवा दिइरहेका छन् ।
लक्षण देखिएका ७ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा ४ जनामा नतिजा पोजिटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी शक्ति क्षेत्रीले नागरिक अनलाइनलाई जानकारी दिइन् ।
सीमा नाका बेलहियामा आज १२ बजेसम्मको तथ्यांक हेर्दा मात्रै १ सय १६ जनाको परिक्षण गर्दा ४३ जनामा कोभिड पोजिटिभ देखिएको क्षेत्रीले बताइन् । यी मध्ये नेपाली र भारतीय पनि छन् ।पाेजेटिभ देखिएका भारतियलाई सीमा बाटै फर्काइएको छ ।
बेलहिया हेल्थ डेस्कका फोकल पर्सन लोकनाथ कडेलका अनुसार दैनिक नेपाल भित्रिनेहरुमध्ये ७० प्रतिशतमा नतिजा पोजिटिभ देखिन थालेको छ । हेल्थ डेस्कका सुचना अधिकारी अनिल कुमार यादवका अनुसार हेल्थ डेस्कमा कार्यरत कर्मचारी मात्र हैन सीमामा रहेका २ जना पर्यटक प्रहरीमा समेत एन्टीजेन परिक्षण पोजिटिभ पुष्टि भएको छ ।
कोभिड पोजिटिभ देखिनेमा हेल्थ डेस्कमा ल्याबमा काम गर्ने गणेशप्रसाद शाह, सीमामा कार्यरत नेपाल रेडक्रस सोसाइटीकी स्वयंसेवीका रुक्मिणी चौधरी रहेका छन ।
सोही हेल्पडेक्समा कार्यरत फ्रन्टलाइनमा खटिनेहरुले ६ महिनायता जोखिमभत्ता नपाएको गुनासो गरेका छन् । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)