बुटवल,मंसिर २० ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कमिटीमा नेता रामचन्द्र पौडेल समूहको प्यानलबाट एक जना उपसभापति बाहेक सबै निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका रुपन्देहीका अष्टभुजा पाठक कांग्रेस लुम्बिबनी प्रदेश उपसभापतिमा पराजित भए ।
अष्ठभूजाले ७७२ मत पाए उनी २० मत अभावले उपसभापति हुन सकेनन् । रुपन्देहीबाटै संस्थापन समूहको सभापतिमा लडेका भरतकुमार शाह र इतर समूहबाट उपसभापति लडेका पाठक पराजित भएपछि पदाधिकारीमा रुपन्देहीको उपस्थिति शून्य भएको छ ।
रुपन्देहीको क्षेत्र नं ४ बाट प्रतिनिधि बनेका पाठक सिंगो प्यानल निर्वाचित हुँदा पनि पराजित भएका हुन् । सभापतिमा संस्थापन इतर समूहका रोल्पाका अमरसिंह पुनले रुपन्देहीका भरतकुमार शाहलाई ८५ मतको फरकमा पराजित गरे । पुनले ८५२ मत ल्याउँदा शाहले ७६७ मत पाए । विजयी भएका पुन कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् । पुन कांग्रेसका केन्द्रीय नेता दीपक गिरी, चन्द्र भण्डारी, संजय गौतमलगायतका नेताहरुको समर्थनमा अगाडि बढेका थिए ।
देउवा समूहबाट रुपन्देहीका प्रभावशाली मानिएका शाह प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिका सभापति हुन् । उनलाई कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको साथ थियो । तर निर्वाचनमा उनी पराजित रहे ।
उपसभापतिमा पौडेल समूहका गुल्मीका भुवन प्रसाद श्रेष्ठले ८४७ र देउवा समूह दाङ्का राजु खनालले ७९२ मत ल्याएर विजयी भए भने पौडेल समूहका अष्ठभूजाले ७७२ र देउवा समूहका सुधाकर पाण्डेयले ६६१ मत ल्याएर पराजित हुनुपर्याे ।
त्यसैगरी महामन्त्रीमा पौडेल समूहका विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए । सहमहामन्त्री पदमा पनि पौडेल समूहकै निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर विजयी भए ।पाठक कांग्रेसका पुराना नेता हुन् ।
नेता डा.चन्द्र भण्डारी सामाजिक सञ्जालमा लेख्छन् -‘परिवर्तनका सन्देश बाहक गुरु धिमिरे र अष्टभुजा पाठकको मत परिणामबाट रुपान्तरणकारीहरु माथी चुनौती थपिएको छ । नेपाल जस्तो देशमा राजनीति विचार र ईमान्दारिता बाट मात्र चल्दैन ।समय छ !’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)