बुटवल,असोज १६-
नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ। पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन्।
काठमाडौंमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार हाल ४ हजार ८८५जना क्वारेन्टाइनमा छन्।आजसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ६० हजार ६९६ जना संक्रमित उपचारपछि निको भएका छन्।
रुपन्देहीमा शुक्रबार ७७ जना कोरोना संक्रमित थपिए :
रुपन्देहीमा शुक्रबार ७७ जना कोरोना संक्रमित थपिएका छन् भने १५ संक्रमित डिस्चार्ज भएका छन् । जसमध्ये २५ जना महिला र ५२ जना पुरुष रहेका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ७७९ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा ४४ जना, तिलोत्तमा नगरपालिकामा २० जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना, सियारी गाउँपालिका र कन्चन गाउँपालिकामा २र२ जना तथा सैनमैना नगरपालिका र सुद्धोधन गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन् ।
रुपन्देहीमा कूल संक्रमित मध्ये २ हजार १९ जना संक्रमित निको भएका छन भने ७३५ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)