बुटवल ,असोज २३ ।
लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि ब्यवस्था मन्त्री शुमन शर्मा रायमाझीले प्रदेश सरकार किसानका समस्या समाधानमा लागेको बताएकी छन् ।अब कृषि मन्त्रीको रुपमा किसानका समस्या हल गर्ने बताईन ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताउदै हेफर लगायतका संघ–संस्थाहरुसंग सहकार्य गर्दै कृषि क्षेत्रको ब्यवसायिकतामा जोड दिने बताईन ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षत्रीले प्रदेशमा ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नको लागि प्रदेश सरकारले कृषि मैत्री बजेट ल्याएको दाबी गरिन । कोरोना संक्रमण पछि विदेशमा भएका युवा स्वदेशमा नै कृषि क्षेत्रमा लगानी गर्न चाहेको उनले बताउँदै सरकारले कृषिमा लगानी गर्ने युवालाई सहयोग गर्नु पर्ने जोड दिइन ।
हेफर ईन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डाक्टर महेन्द्र लोहनीले दुग्ध तथा माशुजन्य उत्पादनको लागि हेफरले कृषकहरुलाई नेपालमा सहयोग गर्दै आएको जानकारी दिए । बुटवलमा बन्दै गरेको बधशाला निर्माणको लागि २३ करोड सहयोग गरेको लोहनीले बताए ।
हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा तिर्थराज रेग्मीले नेपालमा ३ लाख परिवार हेफरबाट लाभाविन्त भएको दाबी गरे ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब विक्रम खड्काले सरकारबाट आउने कृषिका अनुदान बास्तविक किसानसम्म पुग्न नसकेको गुनासो पोखे ।
त्यस्तै , क्लवले हेफर ईन्टरनेश्नल नेपालले लुम्बिनी प्रदेशमा कृषि क्षेत्रमा महत्वपूर्ण योगदानको प्रशंसा गर्दै सम्मान पत्रले सम्मानित गरेको छ । रिपोर्टर्स क्लब नेपाल ,लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)