बुटवल,असाेज १२ ।
रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट आमा र छोराको मृत्यु भएको छ। सैनामैना नगरपालिका बुद्धनगर स्थित पूर्व–पश्चिम राजमार्ग छेउको प्रतिक्षालयमा बस पर्खेर बसीरहेका आमा छोरालाई ट्रकले ठक्कर दिएको हो।
पश्चिमबाट बुटवल आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा सैनामैना ५ बुद्धनगरकी ४२ वर्षीय राधा भट्टराई र उनका छोरा २१ वर्षका महेश भट्टराईको मृत्यु भएको हो।
स्थानीयका अनुसार सडक छेउको प्रतिक्षालयमा कलेज बस कुरेर बसेका बेला तीव्र गतिमा हुइँकिंदै आएको ट्रकले आमा छोरालाई ठक्कर दिएको थियो। कलेज जाने छोरालाई आमाले बाटोसम्म छोड्न आएको स्थानीयले बताएका छन्।
ट्रकको ठक्करबाट गम्भिर घाइते दुवै जनालाई उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। ठक्कर दिने ट्रक र ट्रक चालक चितवनका धनराज गिरी प्रहरी नियन्त्रणमा छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)