बुटवल,भदौ ६ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १० जना नयाँ उद्यमीले एक–एक लाख रुपैयाँ नगदसहितको उद्यमशीलता तथा नव प्रवर्तन कोष अवार्ड प्राप्त गरेका छन् ।
नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीको साझेदारीमा सञ्चालित कोभिड-१९ उद्धार र सामाजिक-आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत् उद्यमीहरुले यो अवार्ड प्राप्त गरेका हुन् ।
अवार्ड प्राप्त गर्ने उद्यमीहरुमा तिलोत्तमा एग्रो फर्मका ईश्वरी ज्ञवाली, द प्लान्ट स्टेशनका समिर ज्ञवाली, सफल सवारी सेवा प्रालिका रोशन खनाल, माई सिभीका सौरभ खनाल, तु सेवाका रमेश ढकाल, वेवरी तरकारी उत्पादक कृषक समूह, अनलाइन ग्रोसरीका सिजन अर्याल, कुखुरापालन व्यवसायी दुर्गाकुमारी राना, मिट मार्टका तेजराज थापा, इन्नोभेटिभ इम्प्लोयमेन्ट एण्ड कन्सल्टेन्टका कुशल डुम्रे रहेका छन् ।
अवार्ड छनौटमा परेका उद्यमीले प्रतिप्रस्ताव एक लाख रुपैयाँ प्राप्त गर्नुको साथैं नगरपालिकाबाट व्यवसाय दर्ता, तालिम, सहुलियत कर्जा, नियमित परामर्श, यान्त्रिकरण र बजारीकरणलगायतका विषयमा सहयोग प्राप्त गर्नेछन् ।
युवाहरुलाई व्यवसायमा जोड्दै रोजगारीका अवसर बढाउँदै लैजाने नीतिअनुरुप उद्यमशीलता तथा नवप्रवर्तन कोष स्थापना गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।
अवार्डको लागि प्रारम्भिक चरणमा १७ वटा प्रस्ताव छनौट भएका थिए । छनौट भएका प्रस्तावकले पेश गरेको आफ्नो व्यवसायिक योजनासहितको प्रस्तुतिको मूल्यांकनबाट दश उद्यमी अवार्डको लागि छनौट भएका नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)