भैरहवा,साउन ३२ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा क्षयरोग स्क्रिनिङ कर्नरको स्थापना भएको छ । उक्त कर्नरको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ्ग र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक मनोज के.सी.ले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा विभिन्न कामले दैनिक जसो आउने सेवाग्राहीहरुको चापलाई मध्यनजर गरि सेवाग्राही संग क्षयरोगका लक्षणका बारेमा जानकारी दिई कुनै लक्षण भएका सेवाग्राहीलाई निशुल्क क्षयरोग परिक्षण गरिने प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ्गले जानकारी दिनुभयो ।
कोभिड १९ संगसंगै क्षयरोगको पनि संक्रमणहुने जोखीम भएकोले यो कार्य प्रारम्भ गरेको उहाले बताउनु भयो । सवै सेवाग्राहीले आफुमा क्षयरोगको लक्षण भएमा निशुल्क रुपमा खकार संकलन गर्ने, निदान गर्ने र उपचारको व्यवस्था सरकारले नै गर्ने जानकारी गराउनु भयो । उहाँले आगामी दिनमा सेवाग्राहीहरुको भौतिक रुपमा चाप बढी हुने सरकारी कार्यालयहरुमा पनि यो सेवाको विस्तार गर्न सके थप सहयोग पुग्ने सुझाव दिनुभयो ।
विश्वव्यापी रुपमाक्षयरोग अन्त गर्ने रणनीति अन्र्तगत राष्ट्रिय क्षयरोग कार्यक्रमले नेपालमा सन् २०५० सम्म क्षयरोगलाई अन्त गर्ने रणनीति लिएको छ र विश्व स्वास्थ्य संगठनले क्षयरोग अन्तका लागि बहुपक्षिय जवाफदेहीताको फ्रेमवर्क लाई सिफारिश गरे अनुसार क्षयरोग अन्तका लागि बहुपक्षिय प्रतिबद्धता र सो अनुसार कार्य हुन अनिवार्य रहेको सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिँहले बताउनुभयो ।
कार्यक्रममा लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनायका टुक प्रसाद पोखरेल, स्वास्थ्यकार्यालय रुपन्देहीका होम प्रसाद खनाल तथा क्षयरोग कार्यक्रमको साझेदार संस्था किड्सका कर्मचारीहरुको उपस्थिती थियो । क्षयरोग तथा कोभिड–१९ स्कृनिङ्ग कार्यमा प्रविधिक सहयोग सेभ द चिल्ड्रेनको रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)