बुटवल,साउन १८-
‘सम्पर्कविहीन भएकी’ भनेर हल्ला फिजाइएकी लुम्बिनी प्रदेशकी सांसद बिमला खत्री (वली)लाई मुख्यमन्त्री शंकर पाेखरेलको निवासमा ‘बन्धक’ बनाइएकाे स्रोतले दाबी गरेको छ ।
दाङ क्षेत्र नम्बर ३(२) बाट निर्वाचित प्रदेशसभा सदस्य वली केहिदिन पहिले उपचारका लागि नेपालगञ्जमा रहेको भनिए पनि नेपालगञ्ज नलगेर एमालेका नेताहरुले बुटवल पुर्याएको र मुख्यमन्त्री निवासीमा राखिएको स्रोतको दाबी छ ।
दाङस्थित घरबाट केही एमाले नेताहरुले गोप्यरुपमा बुटवल पुर्याएको, त्यहाँ लगेर केही दिन नेता भूमीश्वर ढकालको घरमा राखेको र शहरी तथा ग्रामीण विकास मन्त्री हरिप्रसाद रिजालको गाडीमा राखेर मुख्यमन्त्री निवास प्रवेश गराएको नाम नभन्ने सर्तमा एमालेले एक नेताले नागरिक अनलाइनलाइ जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकार दोस्रोपटक गठन हुने बेलामा सांसद खत्रीले माओवादी केन्द्र रोज्नुभएको थियो । अहिले सरकार अल्पमतमा रहेकाले बहुमत जुटाउने प्रयासस्वरुप खत्रीलाई एमालेमा फर्काउने प्रयास भइरहेको छ ।
सोही प्रयासअनुसार उहाँलाई केही आफन्तको सहयोगमा घरबाट गाडीमा राखेर बुटवल पुर्याइएको र केही दिनमा उहाँ पत्रकार सम्मेलन गरेर आफू एमालेमा फर्केको जानकारी दिने तयारीमा रहेको पनि ती नेताले बताए । ‘उहाँहरुबीच केही गोप्य कुरा भइरहेको होला,सबै कुरा मिलेपछि आफै सार्वजनिक हुनुहुन्छ’– ती नेताले भने । अहिले लुम्बिनी प्रदेश सरकार अल्पमतमा छ ।
घटनाको उच्चस्तरीय छानबिन हुनुपर्छ : पूर्वमन्त्री बराल

लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ ।
माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ ।
पूर्वमन्त्री एवम् लुम्बिनी प्रदेश सभाका माओवादी केन्द्रका सांसद सुदर्शन बरालले सत्ताको चरम दुरुपयोग गरी विमलालाई मुख्यमन्त्री पोखरलेको निवासमा ‘बन्धक’ बनाएर वा अपहरण गरेर खाली कागजमा हस्ताक्षर गराई अरुले जबरजस्ती विज्ञप्ति निकालेको आरोप लगाए ।
‘विमलाजीलाई बन्धक बनाएर मुख्यमन्त्री क्वाटरमा राखिएको छ भनेर उच्च सुरक्षा स्रोतले हामीसँग दाबी गरेको छ,’ बरालले भने, ‘उहांलाई मुख्यमन्त्री, एमालेका प्रमुख सचेतकलगायतका नेताले करकाप गरेर हस्ताक्षर गर्न लगाई नक्कली विज्ञप्ति बनाइएको छ, घटनाको उच्चस्तरीय छानबिन हुनुपर्छ ।’
एकजना जनप्रतिनिधिलाई बन्धक बनाएर पार्टी र मिडियासँग सम्पर्कविहीन बनाउनु गम्भीर विषय भएको भन्दै यस सम्बन्धमा उच्चस्तरीय छानबिन हुनुपर्ने बरालको माग छ ।
विमलाले एमाले रोजेको कुरा माओवादी केन्द्रलाई विश्वास नभएको उनले बताए । यदि साँचीकै एमाले रोजेको हो भने यसअघि जस्तै पत्रकार सम्मेलन गरेर विमलाले सार्वजनिकरुपमा भन्नसक्नुपर्ने बरालले बताए ।
‘जनताले, मिडियाले विमलाजीलाई प्रत्यक्ष देख्न, प्रश्न सोध्न पाउनुपर्यो, एमाले रोज्नुको कारण के रहेछ थाहा पाउनुपर्यो,’ बरालले भने, ‘बिरामी नै हुनुहुन्छ भने पनि अस्पतालमै भेट्न पाउनुपर्यो, बन्द कोठाभित्रबाट निकालेको नक्कली विज्ञप्तिमा विश्वास गर्न सकिंदैन ।’
विमलाले पुष्टि हुने गरी एमाले रोजेको अवस्थामा पार्टीले विधि प्रकृया पूरा गरेर तत्काल सांसद पदबाट मुक्त गर्ने बरालले स्पष्ट पारे । ‘मुख्यमन्त्रीजीले बहुमत गुमाउँदा पनि वैशाखदेखि जसरी जालझेल र षड्यन्त्र गरेर असंवैधानिक तरिकाले सत्तामा टाँसिरहनुभएको छ, यो अब धेरै दिन चल्दैन,’ बरालले नागरिक अनलाइनसंग भने, ‘सांसदलाई खरिद गरेर,अपहरण गरेर सत्ता जोगाउने सपना नदेखे हुन्छ ।’
तत्कालीन नेकपाबाट विजयी वलीले फागुन २३ को सर्वोच्चको फैसलापछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् ।
प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् ।
हेराैँ यी खबरहरु :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)