बुटवल,साउन १७-
शुक्रबार प्रदेश सभा सदस्यबाट पद मुक्त भएका लुम्बिनी प्रदेशका तीन जना सांसद सर्वोच्च अदालत जाने भएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसपाका सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव र कल्पना पाण्डेयलाई पार्टीको केन्द्रिय कमिटिले कारवाही गरेको थियो ।
सांसद पाण्डेयले यसअघि गरिएको कारवाहीको मुद्धा सर्वोच्चमा बिचाराधीन रहँदारहँदै पनि पार्टीले कारवाही गर्नु अदालतको मानहानी भएकाले सर्वोच्च जान लागिएको बताए ।
अन्तिम फैसला नआउन्जेल गरिएको कारवाही अबैधानिक रहने भएकाले सांसद पद थमौतिका लागि परमादेशको माग गर्दै अदालत जान लागिएको उनको भनाई छ ।
पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले गरेको यसअघि बैशाख १६ गते पनि यी तीन र सुमन शर्मासहित चार सांसदलाई पद मुक्त गरिदिएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरुको पद थमौति गरिदिएको थियो । तर, अन्तिम फैसला आउनुअघि नै पार्टिले फेरि तीन सांसदलाई कारवाही गरेपछि सांसदहरु फेरि अदालत जाने भएका हुन् ।
सांसद पाण्डेयले प्रदेश सभा सचिवालय, पार्टीको केन्द्रिय कमिटि तथा प्रदेश निर्वाचन आयोगलाई विपक्षी बनाई तीन सांसदले संयुक्तरुपमा रिट दायर गर्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)