बुटवल,असार ३०-
बुटवल–भैरहवा करिडोरका उद्योगीले उपभोगै नगरेको ट्रंकलाइनवापतको रकम भुक्तानी गर्न नसक्ने बताएका छन् । उनीहरुले नियमित रुपमा आएको विद्युत महशुलको भुक्तान समयमै गरिसकेको अवस्थामा ट्रंकलाइन सुविधाको थप दस्तुर वक्यौता भनी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रबाट माग गरिएको रकम भुक्तानी गर्न नसक्ने स्पष्ट पारेका छन् ।
प्राधिकरणले २०७२ र २०७५ सालदेखिको ‘छुट बिल’को भुक्तानी असार मसान्तभित्र गर्न उद्योगीहरुलाई पत्र पठाएको थियो । तर उद्योगीहरुले विद्युत प्राधिकरणले ‘छुट बिल’ का नाममा ट्रंकलाइन महशुल नै असुल्न खोजेको भन्दै विरोध जनाएका छन् । बुधबार विद्युत प्राधिकरण वितरण केन्द्र भैरहवा, नयाँमिल र बुटवल पुगेर उद्योगीहरुले ट्रंकलाइनवापतको महशुल भुक्तानी गर्न नसक्ने भन्दै निवेदन दिएका छन् ।
तिलोत्तमाको योगीकुटीदेखि भैरहवासम्म २३ वटा उद्योगले विद्युत प्राधिकरणसंग टंकलाइनको कुनै पनि माग नगरेको र ट्रंकलाइन जडान भएको सम्बन्धमा उद्योगलाई कुनै पनि जानकारी नदिइ एकपक्षीय रुपमा महशुल भुक्तानीका लागि प्राधिकरणले पत्र पठाएको यशोदा फुड्स प्रा.लि.का. सञ्चालक मधुसुदन घिमिरेले बताए । उद्योगले माग नै नगरेको ट्रंकलाइनको महशुल भुक्तान गर्न भनी भएको प्राधिकरण वितरण केन्द्रको पत्राचार उल्लेखित कानून सिद्धान्तको विपरीत समेत भएको उनले बताए ।
‘नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल विनियमावली २०७३ र नेपाल विद्युत प्राधिकरण, विद्युत प्राधिकरण विनियमावली २०६९ मा भएको व्यवस्थालाई नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०७६ कार्तिक १७ गते बसेको ८१० औं बैठकबाट संशोधन गरी टंकलाइन र टंक फिडरको व्यवस्था गरेको देखिन्छ । यस परिप्रक्षमा २०७२ भदौदेखिको वक्यौता भनी गरिएको पत्राचार त्रुटिपूर्ण छ, ’घिमिरेले भने ।
उद्योगमा चरम लोडसेडिङको अवधिमा विद्युत प्रवाह नै नभएको व्यहोरा पटकपटक वितरण केन्द्रलाई जानकारी गराइसकेको पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहूले बताए । भैरहवा–बुटवल औद्योगिक करिडोरका २३ वटा उद्योगलाई नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइनवापतको छुट रकम र जरिवाना असार मसान्तसम्म बुझाउन सूचना पठाएको छ । ट्रंक लाइनको महशुल साधारण विद्युत भन्दा ६७ प्रतिशत महंगो हुन्छ ।
यता नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इञ्जिनियर जितेन्द्र कुमार झाले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णय अनुसार एक महिनाभित्र महशुल भुक्तानी गराउन निर्णय भए अनुसार उद्योगीहरुलाई पत्र पठाइएको बताए । उनले तत्कालिन महशुल निर्धारण आयोगबाट निर्धारित टंकलाइन दररेटमा रहेर उद्योगहरुलाई बिलिङ गरिएको जानकारी दिए ।
उद्योगहरुलाई महशुल बुझाउन दिएको म्याद बुधबार सकिएको उनले बताए । ‘एक महिनाभित्र टं«कलाइनवापतको महशुल भुक्तानी गराउने भन्ने प्राधिकरणको आदेश अनुसार आदेश कार्यान्यवन गराउन पत्र पठाइएको हो, अब पनि प्राधिकरणको आदेश अनुसार वितरण केन्द्र अगाडी बढ्छ, ’उनले भने ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)