बुटवल,असार २६-
लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा संचालन गरेको कोराेना बिशेष अस्पतालको आईसियु प्रादेशिक अस्पतालमा सारेको छ ।
नयाँ भवन बनेसंगै अस्पतालले आफ्नै परिसरमा सुविधासम्पन्न २० शैय्याको आईसियु थप गरेको हाे। कोभिडको संक्रमण नेपालमा फैलनुअघि ६ वटा मात्र आईसियु रहेको यो अस्पतालमा अहिले भने २० बेड थपेर २६ पुर्याइएको छ । त्यतिबेला ३ वटा रहेको भेन्टिलेटर संख्यालाइ २४ पुर्याइएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले कोभिडको दोस्रो लहरसम्म धागो कारखानामा चलाईएको कोभिड आईसियु शुक्रबारदेखि अस्पतालको आफ्नै भवनमा सारिएको बताए। आईसियु मात्र होईन कोभिड बिरामीको संख्या कम हुँदै गएपछि कोभिड एचडियु पनि अस्पतालकै भवनमा सारिएको खनालले बताए।
कोभिड वार्ड र आईसियुको अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले उद्घाटन गरेका छन्। उनले अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि बिरामिहरुलाई सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई सहज हुने बताए। यसअघि अस्पतालमा संरचनाको अभाव भएकाले धागो कारखानामा कोभिड वार्ड सञ्चालन गरिए पनि अब भने अस्पताल परिसरमै संचालन हुँदा बिरामीहरुको उपचारमा समेत छिटो र सहज हुने उनले बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)