भरत प्रधान /बुटवल,असार २३।
देशभरका ६ सय प्रतियोगीलाई पछिपार्दै निबन्ध प्रतियोगितामा रुपन्देहीकी छात्रा उत्कृष्ट भएकी छन् । रीड नेपालले आयोजना गरेको प्रतियोगितामा रुपन्देहीको तिलोत्तमा–१० मा रहेको जनहित माबिकी छात्रा ममता चौधरीले प्रथम स्थान हाशिल गर्न सफल भएकी हुन् ।
कक्षा ९ मा अध्ययनरत चौधरीले “मेरो सपना, मेरो भबिष्य” शिर्षकको निबन्ध प्रतियोगितामा ६ जिल्लाका ५ सय ९९ जना प्रतियोगीलाई पराजित गर्दै प्रथम हुन सफल भएकी हुन् । प्रथम भएकी चौधरीलाई आयोजक संस्था रीड नेपालले ३० हजार नगद पुरस्कार प्रदान गरेको छ । राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो छात्रा उत्कृष्ट हुन सफल भएको भन्दै बिद्यालयका प्रधानाध्यापक बिष्णु पाण्डेले खुशी ब्यक्त गरे ।
ममताको जितले बिद्यालयको गौरव बढाएको र ग्रामिण क्षेत्रका बिद्यालयमा अध्ययनरत बिद्यार्थीले पनि अवसर पाए गर्न सक्छन् भन्ने सन्देश समेत दिएको उनले बताए । यता ममताका अभिभावक बम बहादुर चौधरीले छोरीले प्रतियोगितामा राम्रो क्षमता प्रदर्शन गरेको भन्दै खुशी ब्यक्त गरे । गत जेठमा भएको प्रतियोगिताको सोमबार भर्चुअल कार्यक्रमको आयोजना गरि नतिजा घोषणा तथा पुरस्कार वितरण गरिएको रीड नेपालकी फिल्ड अफिसर सालु थापाले जानकारी दिईन् ।
उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बापतको नगद रकम उनीहरुको अभिभावकको बैंक खातामा जम्मा गरिएको थापाले बताईन् । प्रतियोगीतामा ओखलढुंगाको नर्बदेश्वर माविकी मुना श्रेष्ठ द्धितीय हुन सफल भएका छन् भने कमला जनज्योति मावि सिन्धुलीमा अध्ययनरत छात्रा कविता श्रेष्ठ तृतीय भएकी छन् । यस्तै शान्ति नमुना मावि रुपन्देहीकी समिक्षा ज्ञवाली, ओखलढुंगाको नर्बदेश्वर माविका छात्र पियूष सुनुवार र श्री मावि सिन्धुलीकी छात्रा सीता श्रेष्ठले सान्तवना स्थान हाशिल गर्न सफल भएका छन् ।
प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय स्थान हाशिल गर्ने प्रतियोगीहरुलाई क्रमश ३० हजार, २५ हजार र २० हजार नगद रुपैयां प्रदान गरिएको संस्थाले जनाएको छ । यस्तै सान्तवना स्थान हाशिल गर्ने प्रतियोगीलाई जनही १५ हजारका दरले नगद रकम प्रदान गरिएको छ ।
जाइका, आईसी नेटको आर्थिक सहयोगमा संस्थाले रुपन्देही सहित खोटाङ, ओखलढुंगा, सिन्धुली, ताप्लेजुङ र बझाङ गरि ६ जिल्लाका ६० बिद्यालयमा क्विक इम्प्याक्ट प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । जस अन्र्तगत रुपन्देही जिल्लामा तिलोत्तमा नगरपालिका भित्र रहेका १० वटा माध्यमिक तहका बिद्यालयमा उक्त प्रोजेक्ट सञ्चालन गरिएको छ ।
यसैबिच राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्नो छात्रा उत्कृष्ट भएको भन्दै मंगलबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ममतालाई सम्मान समेत गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)