बुटवल,असार २२ ।
नवलपुर गैँडाकोटकी २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता भएकी छिन् । गैँडाकोट-४ की असार १४ गते रातिदेखि उनी बेपत्ता भएकी हुन्।
बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खाेजी गर्दासमेत छोरी फेला पार्न नसकेको बताए । उनले भने, ‘लगातार खोजेका छौँ, चितवन र गैंडाकोट प्रहरीलाई खबर गरेका छौँ । तर, अहिलेसम्म केहि पत्ता लागेन ।’
गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी थिइन् । १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो ।
‘पीर नगर्नु बुबा म आउँछु भनेकी थिई,’ बुवा जायेश्वर भन्छन्, ‘हराएको राति ३ पटक कुरा भएको थियो । त्यसपछि छोरीको आवाज सुन्न पाएको छैन ।
अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ । गैडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले एक जनालाई सोही दिन पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् ।
‘गैडाकोटको केटी भए पनि चितवनबाट हराएकाले चितवन प्रहरीले यो केस हेरिरहेको छ,’ उनले भनिन्, ‘कतै लुकेर बसेकी छन् कि भनेर हामी आसपासमा सबैतिर खोजिरहेका छौँ ।’
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले पक्राउ परेका युवाबिनाका प्रेमी भएको खुलेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)