बुटवल,असार १६-
रुपन्देहीको देवदह १० चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको निधन भएको छ ।
रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीका भाइ हुन् ।
मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । कारमा सवार भण्डारीका आफन्त थानेश्वर भण्डारीको अवस्था भने सामान्य छ।
यसअघि परीक्षा नियन्त्रण कार्यालयको सहनियन्त्रकको रुपमा काम गरेका भण्डारी अहिले त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक थिए ।
भण्डारीको आज पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाह संस्कार गरिने भण्डारीका परिवारजनले जनाएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)