बुटवल, असार १-
लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सोमबार रातिदेखि लगातार वर्षा भएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको चरंगे नजिक डाइभर्सन गरिएको सडक भासिएको छ।
आज मध्यान्ह १२ बजेदेखि सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। राजमार्ग विस्तारका क्रममा कल्भर्ट बनाइएकाले डाइभर्सन बनाइएको थियो। लगातारको वर्षाले डाइभर्सन बगाएपछि आवतजावत रोकिएको हो।
सडक भासिएपछि गन्तव्यमा हिँडेका सवारी साधन दुवैतर्फ अलपत्र परेको डिएसपि पाण्डेले बताए। यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डमा पनि पहिरो गएको छ। पहिरोका कारण कतिपय ठाउँमा एकतर्फी मात्रै गाडी चलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
वर्षाका कारण लुम्बिनीका ठूला नदीहरुमा पानीको सतह बढेको छ। तिनाउ, बाणगंगा, रोहिणी, बबई, राप्ती लगायत नदीहरुमा पानीको सतह बढेको छ। नदी किनारका नागरिकलाई सतर्क रहन अपिल गरिएको छ।
उता गुल्मीमा घर भत्किँदा एक जना घाइते भएका छन् । इस्मा गाउँपालिका ५ मैदानमा घर भत्किँदा एक जना घाइते भएका छन्। राजेश परियारको निर्माणाधिन घर भत्किँदा श्रीमती जानुका परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पानीका कारण घर भत्किँदा परियार घाइते भएकी हुन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। त्यस्तै इस्मा १ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुंगाले भत्किएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)