बुटवल,जेठ १४-
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७७-७८ का लागि सरकारले राखेको करिब ४ प्रतिशतको संशोधित आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने बताएका छन् ।
उनले आर्थिक वृद्धिदरबाहेक मुुलुकको समग्र अर्थतन्त्र भने गतवर्षको तुलनामा ‘संयमित र सन्तोषजनक’ अवस्थामा रहेको दावी गरे ।
चालु आर्थिक वर्ष २०७७-७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै पौडेलले कोभिड १९ महामारीको दोस्रो लहरका कारण अनुमानित आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न गाह्रो भएको बताए ।
सरकारको चालु खाता घाटा बढेको भएपनि नियन्त्रित सीमाभित्रै रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षका लागि सरकारले ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने संशोधित लक्ष्य राखिएकोमा उक्त लक्ष्य हासिल गर्न भने नसकिने अर्थमन्त्री पाैडेलले स्वीकारेका छन् ।
अर्थसचिव शिशिर कुमार ढुंगानाले कोभिड १९ महामारीको दोस्रो लहरका कारण अर्थतन्त्रमा केही चाप तथा चुनौती थपिए पनि गतवर्षको जस्तो गम्भीर संकुचन नदेखिने बताए ।
‘हामीले जीडीपीको वृद्धिदर लक्ष्य ७ प्रतिशत राखेकामा त्यो लक्ष्य नभेटिने हुँदा त्यसमा मात्रै हामी पछाडि छौं । अर्थतन्त्रका अरु सूचकहरुमा हामी कम्र्फटेबल जोन मै छौं,’ सचिव ढुंगानाले भने ।
सचिव ढुंगानाले विदेशी विनिमयको सञ्चिति सबल रहेको, मुद्रास्फिती नियन्त्रित अवस्थामा रहेको, वैदेशिक व्यापारमा परिसूचकहरु सकारात्मक रहेको, वैशाखसम्मको राजस्व संकलन लक्ष्य अनुरुप नै रहेको, रेमिट्यान्स बढेको र बजेट खर्च पनि गतवर्षको तुलनामा केही बढेका कारण अर्थतन्त्रमा ठूलो असर नदेखिने दावी गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)